७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

प्रहरी अधिकृत र सरकारी वकिलको राष्ट्रिय सम्मेलन माघ १४ देखि



काठमाडौँ, १२ माघ । अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन यही माघ १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले संयुक्त रुपमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका छन् ।

प्रहरी र सरकारी वकिलबीच समन्वय विकास गर्नु, अपराध अनुसन्धान तथा अभियोजनमा साझा धारणा विकास गरी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सम्मेलनले फैज्दारी न्याय प्रणालीमा फड्को मार्ने आशा व्यक्त गरे । उनले भने – “सरकारवादी फौज्दारी मुद्दामा किन पूर्ण सफलता पाइराखिएकोे छैन, अभियुक्तहरुले उन्मुक्ति पाउने वातावरण किन बन्यो भन्नेमा सम्मेलनमा गम्भीर समीक्षा हुनेछ ।”

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनपश्चात् सरकारी वकिल र प्रहरीबीचको असमझदारी र दूरी अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले भने– “प्रहरीले सरकारी वकिललाई दोष देखाउने र सरकारी वकिलले प्रहरीलाई दोष देखाउने अहिलेको परिपाटीको अन्त्य गरी कसरी वस्तुनिष्ठ अनुसन्धान र भरपर्दो अभियोजन गर्ने भन्नेमा दुवै निकायको सहकार्य हुनेछ ।

प्रहरी र सरकारी वकिलहरुलाई एकै थलोमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण अनुसन्धानकर्ता र अभियोजनकर्ताहरु एकै ठाउँमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्नका लागि सम्मेलन प्रभावकारी हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

सरकारवादी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारको क्षेत्रहरु पहिचान गर्ने, समस्याको पहिचान गरी समाधानको उपायहरु पहिल्याउने, दुई निकायबीच समन्वयको विकास गर्ने, साझा धारणा विकास गर्ने र अपराध अनुसन्धान र अभियोजनसम्बन्धी नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्ने सम्मेलनको उद्देश्य छ ।

सम्मेलनको बन्दसत्रमा सहभागीहरुलाई पाँच समूहमा विभाजन गरी विभिन्न आठ विषयमा छलफल गरिने अयोजकले जनाएका छन् ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००