१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

ग्लोबल

बाढीपीडितलाई अस्थायी टहरा हस्तान्तरण



दमक, १२ माघ । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् ।

बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो । समाजले बाढीपीडितलाई २० बन्डल जस्तापाता, १५ बोरा सिमेन्ट, ४२ थान ट्रस्ट पिलर, तीन थान ट्वाइलेट सेट, दुई थान ट्युबवेल उपलब्ध गराएको थियो ।

गत साउनको दोस्रो सातादेखि कन्काई नदीको कटानबाट त्यस क्षेत्रका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए । विस्थापित भएपछि ती बाढीपीडित स्थानीय कन्काई सिँचाइ आयोजनाको क्षेत्रमा पर्ने सैनिक बस्तीमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । मङ्गलबार समाजले एक कार्यक्रम गरी बाढीपीडितका लागि निर्मित जस्तापाता सहितको संरचनाको हस्तान्तरण गरिएको अस्थायी टहरा निर्माण अभियानका संयोजक होम गौतमले जानकारी दिए।

यसैबीच, अस्थायी टहरामा बस्दै आएका बाढीपीडितले तत्कालको बसोबासको समस्या टरेको भए पनि आफूहरुलाई खाद्यान्न सङ्कट भएको गुनासो गरेका छन् । विस्थापित तुलसी तिम्सिनाले अघिल्लो वर्ष लगाएको धानबाली समेत सम्पूर्ण कटान भएपछि आउने मङ्सिर सम्मका लागि के खाने भन्ने समस्या जटिल बन्दै गएको गुनासो गरे ।

कन्काई नदीको कटानबाट तुलसी तिम्सिनाको एक बिघा, विष्णु रिजालको १० कट्ठा, डम्बर रिजालको १० कट्ठा, धर्मानन्द रिजालको १९ कट्ठा, योगमाया पोख्रेलको आठ कट्ठा १० धुर, श्रीप्रसाद लिम्बुको एक बिघा र लालबहादुर लिम्बूको ६ कट्ठा जमिन पूर्णरुपमा कटान गरेपछि ती परिवार अहिले टहरामा बस्दै आएका छन् । रासस

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००