१० बैशाख २०८१, सोमबार । April 23, 2024

मुख्य खबर

मेची पुल निर्माण नसकिदाँ समस्या



दमक । भद्रपुरस्थितको मेची नदीमा निर्माण हुदै गरेको पुल निर्माण कार्य पूरा हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् ।
अनक–सूर्या जेवीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ मा ३७ करोड ३६ लाख ८५ हजार रुपैयाँमा ठेक्कामा लिई काम सुरु गरेको थियो । निर्माण अवधि सकिएर पनि दुई वर्ष नौ दिन बितिसकेको छ तर पुल नबन्नु चरम ढिलासुस्तीको नमुना भएको स्थानीय बासिन्दाको गुनासो छ । मेची पुलको लम्बाइ ५६० मिटर, चौडाइ ९.८ मिटर डबल लेन हुने पुल नेपाली प्रविधिबाट अन्तर्राष्ट्रियस्तरको पहिलोपटक निर्माण हुन लागेको बताइको छ । पुलको दुवैतर्फ पैदल मार्ग पनि बनिने भएको छ ।
सत्रवटा पिलर रहेको सो पुलमा अहिले १५ वटा पिलरको निर्माणकार्य पूरा भई १२ वटा पिलरमा बिम पनि चढाइसकेको छ । पुलको दुईवटा ११ र १२ नम्बरको पिलर टेडो भएको र सो सम्बन्धमा सडक विभाग पुल एकाइले अहिलेसम्म निष्कर्षमा पुग्न नसकेकाले काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए ।
पिलर निर्माण गर्न कठिनाइ भएपछि ड्रगलाइन मेसिन सिङ्गापुरबाट ६० लाख रुपैयाँमा झिकाइ गत वर्षमा काम सम्पन्न गर्ने ठेकदारको लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले नेपाल सरकारबाट भुक्तानी हुने रकममा समस्या नरहेको तर मेची नदीमा वर्षादको समयमा आउने बाढीले गर्दा बर्सेनि तीन महिना काम रोक्नु पर्ने भएकाले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिए ।
९० प्रतिशत सरकारले रकम भुक्तानी गरिसकेको छ पुलको काम पनि ९० प्रतिशत सम्पन्न भएको प्राविधिकले जानकारी दिए पनि यसमा जनता आश्वस्त हुन सकेका छैन । पुलको बचावटका लागि नदी नियन्त्रणका लागि पुलको दुवै किनारमा सिरानतर्फ ९ सय मिटर र दक्षिणतर्फ ३ सय मिटर लम्बाइको क्रेटिङको काम पनि भइरहेको छ ।
सडक डिभिजन कार्यालय दमक र ग्रामीण हुलाकी मार्ग निर्माण योजना कार्यालय इटहरीको नियमित रेखदेख एवम् निरीक्षण भइरहेकाले पुलको गुणस्तरमा कुनै कमी नरहेको प्राविधिकहरुले बताएका छन् । पुल निर्माणमा दक्षिण झापावासीले २००९ सालदेखि नै सङ्घर्ष गर्दै आइरहेका छन् ।
पुल निर्माण गर्न भद्रपुर तथा झापावासीले २०२८ सालमा तत्कालीन युवराज स्व.वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणको क्रममा इलाममा आएको बेलामा स्थानीय उद्योगी एवं समाजसेवी भद्रपुर निवासी मोहनलाल अग्रवालको संयोकत्वमा बनेको समितिले जनस्तरबाट चन्दा संक्लन गरी उठाएको २२ लाख ८० हजार रुपैयाँ भेटी चढाएको बरिष्ठ पत्रकार एवं मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जानकारी दिए ।
सो क्रममा पुल निर्माण गर्न कुल ३७ लाख लागत लाग्ने प्राबिधिकहरुले जनाएको थियो । पुल निर्माणपछि भारतको सिलगुडी, किसनगञ्ज, ठाकुरगञ्ज, बङ्गलादेश जस्ता देशमा ब्यापार र व्यवसायको पहुँच पुग्ने उद्योगी व्यापारी तथा बुद्धिजिवीको भनाइ छ । पुलको शिलान्यास गर्नुभएका तत्कालीन उपप्रधान एवम् भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले गएको वर्षमा पुलको निरीक्षण एवम् अवलोकनपछि गत पुस १९ गते झापाको बनियानी आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि स्थानीय जनताले पुल छिट्टै बनाइदिन आग्रह गरेका थिए ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००