१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

समाचार

हुलाकबाट रेडियोको नवीकरण



पाल्पा, ११ माघ । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ ।

सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए।

जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको जानकारी दिएका छन् ।

रेडियोले ०७३÷०७४ मा रु १८ हजार ३२० रोयल्टीबापतको रकम जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई तिरेको हो । सय वाटको रेडियोले वार्षिक नवीकरणबापत रु दुई हजार सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

स्टेसन म्यानेजर शुकदेव पोखरेलका अनुसार नवीकरण र रोयल्टीको काम जिल्लाबाट हुन थाले पनि ट्रान्समिटरको नवीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता पनि हट्नुपर्छ ।

पाल्पाको रामपुरबाट संचालित अन्य दुई एफएम, मदनपोखरा गाविसमा एक, दोभान गाविसमा एक र तानसेनबाट चारवटा एफएम रेडियो सञ्चालन रहेका छन् भने नवीकरणका लागि सूचना तथा सञ्चार मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको छ ।

एफएम रेडियो सञ्चालनमा आर्थिक समस्या हुने र पत्रकार लामो समयसम्म टिक्न नसक्दा गुणस्तरीय समाचार र स्थानीयस्तरका समस्या उठान गर्नमा समस्या हुँदै आएको रेडियो सञ्चालक बताउँछन् । रासस

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००