७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

पर्यटन

पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’



रपाल्पा। झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ ।

वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो ।

छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा वन हिजोआज अम्रिसोले गर्दा इलामको चियाबगानको झल्को मेटाएको छ । काउलेडाँडा वन चियाबगानको झल्को मेटाउने भएपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ र आकर्षणको केन्द्रका रुपमा प्रख्यात बनेको छ ।

यहाँ लगाएको अम्रिसो फस्टाउँदै गएपछि अहिले यस क्षेत्र पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिन थालेको छ । काउलेडाँडाको माथिल्लो भागबाट उत्तरमा रहेका विभिन्न हिमशृङ्खला तथा तराईका विभिन्न स्थानको अवलोकन समेत गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

अम्रिसोखेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आएको छ । एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा अम्रिसोखेती सुरु गरिएको हो ।

झन्डै २४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा लगाएको अम्रिसोखेती, त्यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि हालसम्म ५६ जिल्लाबाट यहाँ आएको वन समूहका अध्यक्ष दमन थापा पाटाले बताए ।

काउलेडाँडा वनमा लगाइएको अम्रिसोबाट २०७१ सालमा रु ७५ लाख र गत वर्ष रु ९२ लाख बराबरको आम्दानी भएको अध्यक्ष पाटाले बताउनुभयो । “सुरुमा अम्रिसोको संरक्षणमा केही समस्या आइलागे पनि पछिल्लो समय अम्रिसोबाट मनग्ये आम्दानी भइरहेको छ” बताए।

अम्रिसो फुल खेल्ने समयमा बढी पर्यटकको सङ्ख्यामा वृद्धि हुने जनता प्राथमिक विद्यालय धार्केसिङका प्रधानाध्यापक भीमबहादुर रानाले बताए ।

यस क्षेत्रको मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै झिरुवास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै अगाडि बढाउने काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जनाए ।

झिरुबास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २२७ घर उपभोक्ता काउलेडाँडा वनमा आबद्ध रहेको कार्यालय सचिव वीरबहादुर पाटाले जानकारी दिनुभयो । यस वन समूहभित्र पनि १९ उपसमूह आबद्ध रहेर अम्रिसोखेती गर्दै आइरहेका छन् ।

झिरुवासमा सुरु गरिएको अम्रिसो खेती फस्टाउँदै गएपछि छिमेकी गाविस मित्याल, सहलकोटका स्थानीयले पनि खेती गर्न थालेका छन् ।

यहाँ अवलोकनका लागि आउने पर्यटकका लागि काउलेडाँडा वनको प्राकृतिक सुन्दर वातावरण अम्रिसोखेती मात्र नभई परम्परागत रुपमा लोपोन्मुख अवस्थामा रहेको कुडुले घर पनि रोचक र आकर्षक बनेको छ । यस क्षेत्रमा अहिले पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ । रासस

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००