१२ बैशाख २०८१, बुधबार । April 25, 2024

ग्लोबल

ट्रम्पको राष्ट्रपति पदबहालीको पहिलोहप्ता अति व्यस्त कार्यक्रमका साथ सुरु



Donald Trump

वशिङ्गटन । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ह्वाइट हाउसमा आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।

उहाँको पदवहालीको पहिलोहप्तामा अति व्यस्त कार्यक्रमहरू रहेका छन् । निर्वाचन अभियानको क्रममा उहाँले वचनबद्धता प्रकट गर्नु भएका कतिपय महत्वाकाङ्क्षी कार्यसूचीहरू कार्यान्वयनमा ल्याउन पनि सोमबारदेखि नै प्रक्रिया सुरु गरिने उनले ट्वीटरमार्फत् सार्वजनिक जानकारी दिएका छन् ।

बैठकै बैठकले एकक्षण पनि फुर्सद नहुने भएकाले आज सोमबार, पदबहालीको साँच्चिकै पहिलो दिन हुने भनी राष्ट्रपति ट्रम्प स्वयम्को भनाई रहेको छ । उनले सर्वप्रथम रिपब्लिकन तथा डेमोक्र्याट – दुवै पार्टीका अमेरिकी राष्ट्रिय कँग्रेस (संसद्) का नेताहरूसँग बैठक गर्नेछन् । बैठकमा चल्ने छलफलका क्रममा आउने सुझाव तथा टिप्पणीहरू सबै उनले कान खोलेर सुन्ने पनि बताएका छन् ।

सोमबार बिहान सबेरै उनले सम्प्रेषण गरेको एक ट्वीटर सन्देशमा राष्ट्रमा रोजगारीको थुप्रै अवसर सिर्जना र विश्वसनीय राष्ट्रिय सुरक्षाको चिन्तन मै मेरो दिनभरीको समय खर्च हुने भनी उल्लेख गरेका छन् । साथै, रोजगारीको अवसर सिर्जना गर्ने प्रयोजनबस उनले अमेरिकी उद्योग, उत्पादन तथा वाणिज्य क्षेत्रका ठूला उद्यमी तथा व्यवसायीहरूलाई पनि छलफलका लागि आजै ह्वाइट हाउसमा आमन्त्रण गरेका छन् ।

उनीहरूले प्रस्तुत गर्ने धारणा, विचार तथा सुझावहरू ध्यानपूर्वक सुन्ने तथा निचोड र तथ्यको चिन्तन गरिने पनि जनाइएको छ । यस कार्यक्रम पहिलो कार्यालय घण्टा (फस्र्ट अफिस आवर) मा हुनेछ । त्यसपछि, युनियनका नेता तथा कर्मचारीहरूले आ–आफ्ना कुरा राख्ने बैठक चल्नेछ । अपराह्नमा, कँग्रेसका केही खास खास नेताहरूसँग बैठक बसी स्वास्थ्य रक्षा (हेल्थ केयर) सम्बन्धी नयाँ तथा परिमार्जित व्यवस्था र अन्य लक्ष्यहरूका सम्बन्धमा पनि गहन छलफल गरिनेछ ।

त्यस्तै, औपचारिक राष्ट्रपतिका हैसियतमा, अमेरिकी कँग्रेसका सभामुख पल ¥यानसँग छुट्टै उहाँको पहिलो बैठक पनि बस्नेछ । राष्ट्रपति ट्रम्पले आफ्ना सन्देशहरू सार्वजनिक गर्न ट्वीटर एक्काउन्ट नै प्रयोग गरिरहेको र सोमबार बिहान सम्प्रेषित उक्त लामो सन्देशमा ह्वाइट हाउस छिरिसकेपछि सुरु गरिने यात्रा निकै कठीन र चुनौतीपूर्ण रहने हुँदा रिपब्लिकन पार्टीका मित्रहरू, ह्वाइट हाउसका कर्मचारीगण, उद्यमी तथा व्यवसायीहरूका साथै राष्ट्रवासीको हार्दिक सहयोग र समर्थनको अपेक्षा गरिएको उल्लेखित छ ।

त्यसैगरी, धेरैथरी अपरिहार्य कार्यक्रमहरू यस हप्ताभरी चलिरहने र रिपब्लिकन सांसद्हरूद्वारा हप्ताको पछिल्लो दिन फिलाडेल्फियामा उनको सम्मानमा आयोजित कार्यक्रममा सम्बोधन गर्नु हुने र लगत्तै बेलायती प्रधानमन्त्री टेरेसा मेसँग औपचारिक भेटघाट एवम् छलफल गर्ने कार्यक्रम रहेकाले राष्ट्रपति ट्रम्प यस हप्ताभरी निकै व्यस्त रहने जनाइएको छ । रासस एपी

प्रकाशित : १० माघ २०७३, सोमबार ००:००