१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

खेलकुद

फाल्गुनन्द गोल्डकप : ताप्लेजुङ फराकिलो गोल अन्तरले विजयी



falgunanda-goldcup-last-quater

फिदिम, २० पुष । डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार भएको अन्तिर क्वाटर फाइनलमा चर्च व्वाइज क्लब काठमाण्डौँलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको हो ।

फिदिम माविको खेलमैदानमा भएको प्रतियोगितामा चर्च व्वाइजले सुरुवाती अग्रता लियो । पहिलो हाफको १२ औँ मिनेटमा चर्च व्वाइजका वर्सात गुरुङले प्रहार गरेको फ्रि किक ताप्लेजुङका गोल रक्षकले रोकेपनि फर्किएको बललाई अजय मार्टिन कायोडेले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

तर, अग्रता हाँसिल गरेको चर्च व्वाइजको कमजोर रक्षापङ्तीको फाइदा उठाँउदै ताप्लेजुङले पहिलो हाफको उत्तरार्धमा दुई गोल गर्न सफल भयो । ताप्लेजुङका लागि ३७ औँ मिनेटमा स्ट्राइकर निराजन खड्का तथा ४३ औँ मिनेटमा सेगुन यथिटयोले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए ।

पहिलो हाफमा १ गोलले पछि परेको चर्च व्वाइज दोश्रो हाफमा पनि पनि लयमा फर्कन सकेन् भने ताप्लेजुङले खेललाई थप आक्रामक बनायो । ताप्लेजुङका लागि सेगुनले दोश्रो हाफको पहिलो मिनेट र ३७ मिनेटमा गोल गरे । यस्तै दोश्रो हाफको १० औँ मिनेट र इन्ज्युरी समयमा सुनील बलले गोल गर्दै टिमको फराकिलो जीत सुनिश्चित गरे ।

सेगुनले ताप्लेजुङका लागि पहिलो र आठौँ फाल्गुनन्द गोल्डकपका लागि दोश्रो ह्याट्रिक पूरा गरेका छन् । यसअघि विर्ता युनाइटेड क्लब झापाका कर्ण लिम्बूले प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरेका थिए ।

बुधवार अन्तिम क्वाटरफाइनल सकिएसँगै जारी आठौँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलको समिकरण समेत पूरा भएको छ । जसअनुसार विहीवार आयोजक फिदिम स्पोर्टिङ क्लबले विर्ता युनाइटेडको सामना गर्नेछ भने शुक्रवार बुधवारको विजेता ताप्लेजुङले एलेभेन एरोज सुनसरीको सामना गर्नेछ ।

१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । गत पुष १५ गते सुरु भएको फाल्गुनन्द गोल्डकप आगामी आइतवार समाप्त हुनेछ ।

मेचीपोष्ट

प्रकाशित : २० पुस २०७३, बुधबार ००:००