मधेशी, थारू, आदिवासी जनजाति, दलितलगायत समपूर्ण मधेशी पीडित छन् । जो वर्षौंदेखि पीडित छन्, अधिकारविहीन छन् उनीहरू आफ्नै घरमा विदेशीको जस्तो पीडा अनुभव गरिरहेका छन् । त्यो पीडाबाट मुक्त हुनका लागि हामी संघर्षरत् छौं र रहनेछौं । जुन व्यक्तिहरूले, जुन शासकहरूले संविधान बनाएका थिए, उनीहरूले ९० प्रतिशतको नारा दिएका थिए, उनीहरूले आज पनि त्यसको वैधानिकतालाई साबित गर्ने कोशिस गरिरहेका छन् । त्यसलाई लागू गर्नका लागि फेरि उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ । जसले हामीलाई अलग–थलग गरे, जसले हामीमाथि गोली चलाए, संविधान बनाउने बेलामा हामीलाई निषेध गरे, आज फेरि उनीहरूलाई हाम्रो सहयोगको आवश्यकता परेको छ ।
जसले मधेशको विरोध गरिरहेका छन्, उनीहरूले आज आन्दोलन गरिरहेका छन् । त्यो आन्दोलन मधेशको विरोध नभएर अरू के हो ? जसका लागि तिनीहरूले आन्दोलन गरिरहेका छन् त्यसको अहिलेसम्म नक्सा पनि बनाइएको छैन, मात्र प्रस्तावित गरिएको छ । जुन पूर्ण पनि छैन, अपूर्ण छ । त्यो प्रस्तावले हाम्रो मागलाई सम्बोधन गरेको छैन ।
हामी माथि गोली चलाएर यो विभेदकारी संविधान हामीमाथि थोपार्न चाहन्छन् । हत्या उनीहरूले गरेका छन् तर, हत्याको मुद्दा मधेशी र थारूहरूमाथि चलिरहेको छ । जसको घर जलाइएको छ आज उनीहरूमाथि नै घर जलाएको मुद्दा चलिरहेको छ । अहिले पनि एकतर्फ यस्तो भनिरहेका छन् कि आन्दोलनका दौरान जुन मुद्दा चलाइएको थियो त्यो फिर्ता लिइनेछ तर अर्कोतर्फ प्रहरीबाट धरपकड भइरहेको छ । कहिले घर जलाएको मुद्दामा त कहिले हत्या गरेको मुद्दामा धरपकड भइरहेको छ । कसको हत्या भएको थियो ? मधेशीको हत्या भएको थियो भने फेरि मधेशी र थारूमाथि हत्याको मुद्दा चलाउनुको औचित्य र आधार के हो ? त्यो दिन पनि आउन सक्छ कि अदालतको फैसलाद्वारा पनि मधेशी र थारूहरूलाई हत्याको अभियोगमा पक्राउ गरिनेछ र त्यो अदालतको फैसला हो भनेर भन्नेछन् । यस्तो पनि हुन सक्छ र यस्तो भएको पनि छ । आयोग बन्छ, समिति बन्छ त्यसको प्रतिवेदन पनि आउँछ र त्यो प्रतिवेदनअनुसार काम गरिँदैन र त्यो प्रतिवेदनलाई पनि रातारात समाप्त पारिने काम भएको छ ।
अहिले ‘प्याकेज डिल’को कुरा भइरहेको छ जसअनुसार चुनाव गरिनेछ । तर, त्यसका लागि उनीहरूलाई हाम्रो सहयोगको आवश्यकता पर्छ । हाम्रो सहयोग किन चाहियो ? पहिले शासकवर्गले सबै सिटको बाँडफाँड गरिहाल्छन्, सहमति गरिहाल्छन् र दुनियाँलाई देखाउनका लागि गिन्ती गरिहाल्छन् । भनेपछि चुनावको नाटक किन गर्ने ? अहिले संसदमा एउटा नाटक मञ्चन फेरि हुन गइरहेको छ । तीनै दल मिलेर एउटा नाटक मञ्चन गरी संविधान जारी गरिएको थियो भने अर्को नाटक मञ्चन गरी हामी अनुपस्थित हुँदा पनि त्यसलाई मतदान गरी ९५ प्रतिशत पु¥याएर भन्छन् कि अहिले जुन संशोधन ल्याइएको छ त्यो असफल भयो भनेर ।
संशोधनलाई परिमार्जन गरेर पास गर्नुको साटो तीन दलले फेरि नयाँ नाटक मञ्चन गर्न गइरहेको छ । त्यो प्रस्तावलाई संसदमा ल्याउनका लागि तीन दलको मिलेमतोमा रोकिरहेको छ । हामीले सबैले सुनेकै छौं कि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए कि ‘जसले एमालेमाथि यो आरोप लगाउँछ कि मधेश विरोधी हो भनेर उ मुर्ख हो ।’ मुर्ख शिरोमणीको टाइटलमा दाबी स्वयम् ओलीकै हो । एमालेले राष्ट्रिय झण्डाको प्रयोग आफ्नो आन्दोलनमा गरिरहेको छ । एमालेले राष्ट्रिय झण्डालाई प्राइभेट झण्डा जस्तो दुरूपयोग गरेर राष्ट्रियताको अपमान गरेको छ । तर, यस विषयमा बोल्ने यहाँ कोही छैनन् ।
राष्ट्रिय झण्डा कुनै पार्टीको प्राइभेट झण्डा हुनै सक्दैन । राष्ट्रिय झण्डालाई सबैले राष्ट्रियताको प्रतिकको रूपमा मान्छन् । तर, त्यसलाई प्राइभेटरूपमा आन्दोलनको नाममा मधेश विरोधी आन्दोलनमा उपयोग गरिरहेको छ । कहाँ गयो उसको राष्ट्रियता ? राष्ट्रघात गर्नेहरू आज हामीमाथि आरोप लगाइरहेका छन् कि मधेशी, थारू, जनजातिहरू राष्ट्रघाती छन् भनेर । आफै राष्ट्रघातको काम गर्छन् र उल्टै अरूलाई राष्ट्रघाती भन्दैछन् । यसप्रकारका नारा दिँदैछन् यिनीहरू । जनताहरूले आफै निर्णय गर्छन् कि को राष्ट्रघाती र विखण्डनकारी हुन् ।
यदि मधेशलाई पहाडसँग मिलाइएन भने देशको अखण्डतामा असर पर्छ भन्ने दाबी गर्छन् शासक वर्ग । यदि जनता अधिकार सम्पन्न भए भने देश टुक्रिन्छ यिनीहरूको दाबी हो । यस्ता मनस्थिति भएकाहरूले नै मुर्ख शिरोमणिको दाबी गर्छन् तर, मुर्खताको आरोप मधेशीहरूमाथि लगाउँछन् । के कारण थियो कि नवलपुरलाई पहाडमा मिसाइयो ? त्यहाँ रहेका थारूहरूको बचेका जुन जग्गाजमीन छ त्यसलाई पनि कब्जा गरेर उनीहरूलाई त्यहाँबाट भगाएर राज गर्ने योजना बुनेका छन् ।
थारूहरूको बसोबासको जग्गा कब्जा गरेर शासक वर्ग त्यसमा रजाइ गर्न खोजिरहेका छन् । यो जाानी जानी अन्याय, अत्याचार भइरहेको छ । यो अत्याचार झापामा पनि गरिएको थियो । यही प्रक्रिया मोरङ र सुनसरीमा पनि सुरू भइरहेको छ र हुन्छ पनि । त्यहाँबाट आदिवासी जनजातिहरूलाई भगाउँदैछन् । त्यहीं अवस्था कैलाली कञ्चनपुर जहाँ थारूहरूको आदि भूमि हो त्यहाँ पनि थारूहरूमाथि आक्रमण हुँदैछ । तर, उनीहरूको पीडा सुन्नका लागि यहाँका शासकहरू तयार छैनन् । यस्तो अवस्थाबाट हामी गुज्रिरहेका छौं ।
त्यसैले, हामीले संघर्षका जुन संकल्प लिएका छौं त्यसलाई पूरा गर्छौं । यस्ता अराजकता कार्यहरूबाट हामी देशलाई मुक्त गराउँछौं । काठमाडौंको इतिहास हेर्ने हो भने काठमाडौंलाई मधेशीहरूले नै बसाएको हो । मधेशीहरूलाई त यहाँबाट लखेटिएकै हो र यही प्रक्रिया अब मधेशमा सुरू गरिरहेका छन् । जुन कि अब सम्भव छैन । हामी जागिसकेका छौं, सबै बच्चादेखि बुढापाकसम्म । मधेश आन्दोलनका दौरान सबैले देखेकै हुन् बच्चा, बृद्ध र महिलालाई समेत छोडिएन, गोली प्रहार गरियो । हाम्रो भाषा र संस्कृतिमाथि प्रहार भएको छ । संस्कृतिमाथिको आक्रमण भनेको महाअपराध मात्र होइन सबभन्दा ठूलो पाप हो । किनकि महिला भनेको हाम्रो संस्कृतिको प्रतिक हो । जब महिलामाथि आक्रमण हुन्छ भने त्यो संस्कृतिमाथिको आक्रमण हो र संस्कृतिमाथि आक्रमण हुँदा त्यो कुनै हालतमा क्षम्य हुँदैन । त्यो अपराधका लागि यो राष्ट्रले भोग्नुपर्ने हुन्छ । यसप्रकारका घटनाहरू बन्द होस् ।
अब फेरि चुनावको नाटक गरेर मधेशी, थारूहरूलाई मार्न चाहन्छन् । हामीहरू माथि गोली चलाउन चाहन्छन् । फेरि हाम्रो घर जलाइन्छ, हामीमाथि गोली बर्साउँछन्, हाम्रो हत्या हुन्छ, हामीलाई जेलमा राख्छन् । अहिले पनि हिरासतमा धेरै मधेशीहरू रहेका छन् । भन्छन् मुद्दा फिर्ता लिन्छौं तर, किन हिरासतमुक्त गरिरहेका छैनन् ? फेरि अदालतको बहाना बनाइँदैछ । अनेक बहानाबाट नयाँ–नयाँ मुद्दा चलाएर मधेशी, थारू, आदिवासी जनजाति मधेशमा बसिरहेकाहरूलाई परेशान गरिरहेका छन् । हामी बारम्बार शान्तिपूर्ण ढंगले आफ्ना कुरा राख्दै आएका छौं तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
अब हाम्रो अगाडि कुन बाटो रहन्छ ? हामीले भनेका छौं कि हामी हरेक किसिमको सहयोग र्छौं । एक्टिभ सहयोग पनि गर्छौं र पेसिभ सहयोग पनि गर्छौं । तर, यदि बन्दुक लिएर आउँछौं भने परिणाम भयावह हुनेछ । आजको अवस्था कस्तो छ भने उनीहरूको एक हातमा बन्दुक छ भने अर्को हातमा संविधान । बन्दुक बोकेर संविधान लागू गर्न आए भने त्यसपछि हामी सामु संघर्षबाहेक अन्य कुनै बाटो रहँदैन । तीन दलले भित्रभित्रै ‘प्याकेज डिल’ गरिसकेका छन् । तर, बाहिर देखाउनका लागि समस्याको सम्बोधन गर्छौं भनिरहेका छन् । माओवादी भन्छन् मधेशसँग लभ छ, माइती आएका छौं । माइती दिनका लागि आउँदैन, लिनका लागि आउँछन् । सत्तामा जानका लागि मधेशीको आवश्यकता पर्छ तर, मधेशीले के पायो ? मधेशीले उपेक्षा र अपमानबाहेक अरू केही पाएनन् । यस अपमान र उपेक्षाको विरूद्धमा हाम्रो संघर्ष हो । आजको सबभन्दा ठूलो शक्ति कम्युनिज्म होइन, क्याप्टालिज्म होइन । आजको सबभन्दा ठूलो शास्वत् शक्ति ‘टु बि फ्रि’ अर्थात स्वतन्त्र हुनु हो । मानव समाज, मानव सभ्यता यसैका लागि संघर्ष गर्दै आएका छन् । यो स्वतन्त्रताको शास्वत् शक्तिलाई विश्वमा कसैले आजसम्म रोकेको छैन र रोक्न पनि सक्दैन । (तमलोपाको ९औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा आयोजित संकल्प कार्यक्रममा अध्यक्ष ठाकुरले गरेको सम्बोधनको पूर्णपाठ) (मधेश दर्पण फिचर सेवा)
१८ पुस २०७३, सोमबार ००:००
0
Shares
प्रतिक्रिया