७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Life Style

अलविदा अर्जुन खालिङ



15492198_10209219628582684_1479225396634978383_nकाठमाडौं । कलाकार तथा साहित्यकार अर्जुन खालिङको ४१ बर्षको उमेरमा निधन भएको छ । बुधबार दिउँसो काठमाण्डौ, कोटेश्वरस्थित आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । उनले आत्महत्या गरेको पुष्टी भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको थियो ।
चित्रकला र कविता लेखनमा अबल खालिङ किरात राई लेखक संघका अध्यक्ष, चिण्डो बुक्सका अध्यक्ष, किरात राई प्रज्ञा परिषद सदस्य तथा संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव समेत रहेका थिए ।

‘गोल्ड मेडलिस्ट’देखि साँस्कृतिक अभियन्तासम्म

15442161_937900186342569_5518130038593292130_n
सोलुखुम्बु जुभिङ स्थायी घर भएका खालिङको जन्म वि.स. २०३२ भदौ २५ गते भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा २०५८ सालको ‘गोल्ड मेडलिस्ट’ थिए । स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङ र अध्यापन गराउँथे । केही समय अघिबाट अध्यापन छाडेर आदिवासी जनजातिको साँस्कृतिक पाटो र जीवनशैलीलाई क्यान्भासमा उतार्ने अभियानमा थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच बनाएका थिए । उनको ‘सूर्य डढिरहेछ’ र ‘गोयाङको सुगन्ध’ कवितासंग्रह प्रकाशित छन् । जागरण, स्थानीय स्वाद विम्ब र प्रतिक प्रयोग गर्ने तथा सीमान्तकृतहरुको आवाज कविता मार्फत मुखरित गर्दै आएका थिए । उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङको विषय बनाएर दर्जनौ चर्चित पेन्टिङहरु गरेका थिए ।

तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका खालिङले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए । यसपछि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ बिषय बनाएर अभियान्ताको रुपमा सक्रिय थिए । ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ उनकै परिकल्पना र नेतृत्वमा सञ्चालित थिए । कवि कलाकार मात्र होइन उनी सांस्कृतिक अभियन्ता थिए ।
उनी संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव समेत थिए । मृत्युको कारणबारे विवरण खुल्न सकेको छैन । उनी फेसनमार्फत् किराती संस्कृतिलाई प्रर्बद्धनमा गर्न लागि परेका थिए ।

यायोक्खा र फोरम हेडक्वाटरमा श्रद्धाञ्जली, बनकालीमा अत्यष्टी
खालिङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहिबार दिउँसो किरात राई यायोक्खाको केन्द्रिय कार्यालयमा राखिएको थियो । किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले यायोक्खाको झन्डा ओढाएका थिए । उहाँलाई श्रद्धाञ्जली दिन योयाक्खाका पदाधीकारी, विभिन्न भातृ संगठनका प्रमुख, कलाकार, साहित्यकार, सामाजिक आन्दोलन अभियन्ता तथा सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।
खालिङको पार्थिव शरीरलाई यायोक्खापछि संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालयमा श्रद्धान्जलीको लागि राखिएको थियो । उनलाई संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको झन्डा ओढाएका थिए ।
खालिङको पार्थिव शरीरलाई यायोक्खा र फोरम हेडक्वाटरमा श्रद्धाञ्जलीपछि बिहिबारै पशुपति क्षेत्रको बनकालीमा किरात परम्पराअनुसार अन्त्येष्टि गरिएको किरात राई यायोक्खा काठमाण्डौ सदस्य रीता राइले बताए ।

प्रकाशित : १ पुस २०७३, शुक्रबार ००:००