१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

अन्तवार्ता

किरात स्वायत्त राज्य प्राप्ति गर्ने सामुहिक प्रतिबद्धता हुन्छ : राई



tudikhel-arjun

किरात राई विद्यार्थीसंघको ८ औँ राष्ट्रिय सम्मेलन २०७३ मंसिर २६, २७ र २८ गते इलाममा हुदैछ । यस संगठनको २०५६ भदौ १७ गते स्थापना भएको हो । किरात राई विद्यार्थी संघ राई विद्यार्थीहरुको साझा संगठन हो । सामुदायिक तथा साँस्कृतिक पहिचानका लागि स्थापना भएको यो संगठन मार्तसंस्था किरात राई यायोक्खाले किरात राज्य प्राप्तिको आन्दोलन अघि सारेसंगै आन्दोलनमा होमिएको छ । राष्ट्रिय सम्मेलन नेतृत्व परिवर्तन मात्र नभएर नीति निर्माण र संगठनको भावी रुपरेखा कोर्ने महत्वपूर्ण विन्दु पनि हो । यसै सेरोफेरोमा अध्यक्ष अर्जुन जम्नेली राईसँग टुडिखेलले गरेको भलाकुसारीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सम्मेलनको तयारी कहाँ पुग्यो ?
प्रचारप्रसारको लागि भित्ते लेखन, पम्प्लेट टाँस्ने काम, अपील वितरण लगायतका कामहरु तीव्र रुपमा भइरहेको छ । आमसञ्चारमा समाचार प्रकाशन, प्रशारण भइरहेका छन् । संघमा आवद्ध साथीहरुको समाजिक सञ्जालको भित्ताहरु यतिवेला किरात राई विद्यार्थी संघको आठौ राष्ट्रिय सम्मेलनले छाएको छ । प्रचारप्रसारको साथै सम्मेलनमा आवश्यक पर्ने आर्थिक अभियानमा पनिसँगै बढाएका छौ ।

नेतृत्व बाहेक यो सम्मेलनले अरु कुनै महत्वपूर्ण निर्णय लिने सम्भावना छ ?
सम्मेलनमा छ सय बढी प्रतिनिधि पर्यवेक्षकहरु सहभागी हुनेछन् । नयाँ नेतृत्व छान्नेकाम सम्मेलनको स्वभाविक काम नै हो । त्यो भन्दा महत्वपूर्ण काम चाही किरात स्वायत्त राज्य सुनिश्चितता गराउने, संविधान मार्फत आएको अर्ध संघीयता पूर्ण गराउन र कार्यान्वयन पहल गर्ने, हुन लागेको स्ववियुको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गराउन पहल गर्ने सामुहिक प्रतिबद्धा हुन्छ ।

नेतृत्वको लागि निर्वाचन नै हुन्छ ?
संगठनको इतिहासमा अहिलेसम्म सर्वसहमत नै नेतृत्व चयन हुदै आएको छ । सायद यो सम्मेलनले पनि सर्वसहमति कै आधारमा नेतृत्व चयन हुनसक्छ । अग्रजलाई मान्ने हाम्रो परम्परा रहेकाले यो सम्मेलनमा पनि निरन्तरता पाउने सम्भावना छ ।

इलाममा सम्मेलन गर्नुको कुनै विशेष अर्थ छ ?
इलामको जम्मा २ लाख ९० हजार २५४ मध्ये राईको ६८ हजार ९ सय ६५ अर्थात जिल्लामा सबभन्दा ठूलो जनसंख्या राईको छ । त्यो नेपालकै सुन्दर ठाउँहरु मध्ये पर्छ । संघको इलाम जिल्ला समिति र त्यहाँ कार्यक्षेत्र भएका नेताहरुले इलाममै गरौ भनेर कडा प्रस्ताव आएको र हामीले किरात स्वायत्त राज्य दाबि गर्दै आएको क्षेत्र परेको कारण त्यही भूमिका हाम्रो क्रियाकलाप केन्द्रीत गर्न पनि किरात राई विद्यार्थी संघको आठौ राष्ट्रिय सम्मेलन त्यहाँ गर्ने निर्णय भएको हो ।

इलाम त लिम्बुवानले दावि गर्दै आएको छ ?
यो बेला किरात र लिम्बुवानवीच विवाद गर्ने समय होइन । संघीयतालाई टिकाउन किरात अन्तरर्गतको लिम्बुवान हाम्रो प्रस्ताव हो । अहिले किरात वा लिम्बुवान भएपनि भविश्यमा त्यो भूगोल भित्रको जनताले आवश्यकता अनुसार नाम परिवर्तन सिमाना हेरफेर गर्न सक्छ ।

स्ववियु निर्वाचन हुने चर्चा छ, के छ तपाईहरुको धारणा ?
किरात राई विद्यार्थी संघ पूर्ण समानुपातिक निर्वाचत प्रणालीमा चाँडो भन्दा चाँडो निर्वाचन गर्नु माग गर्दै आएका छौ । प्रत्यक्ष निर्वाचन प्रणालीमा निर्वाचन भए, त्यो प्रति संगठनको अस्वीकार रहन्छ । स्ववियु बारे सम्मेलनमा अझ व्यपक छलफल गछौं ।

सामाजिक संगठनले राजनीतिक मुद्दा उठाउन मिल्छ ?
केलाई राजनीतिक, केलाई समाजिक समस्या भन्ने ? पहिचानको आधारमा संघ राज्यहरु स्थापनाको मुद्दा उठाउनु, किरात स्वायत्त राज्य, किराती समुदायको भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण र विकासको आवाज उठाउनु, जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी राज्य व्यवस्था कायम गर्न वर्तमान शासकहरुलाई दबाब दिने काम सामाजिक र राजनीतिक दुवै प्रकारको मुद्धा हो । हामी राजनीतिक दलको रुपमा निर्वाचनमा सहभागी हुदैनौ । तर, देशमा हुदै आएको समस्या समाधानको लागि संगठनले निरन्तर आवाज उठाइरहन्छ ।

संविधान संशोधन प्रस्तावप्रति के छ  संगठनको धारणा  ?
घोषित संविधान अपूर्ण छ । जनताले नाम सहितको संघीय राज्य, धर्म निरपेक्षता, समानुपातिक र समावेशी राज्य व्यवस्था चाहेका थिए । यो संविधानबाट हुन सकेन । हामीले सम्मेलनको लागि ‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ नारा तय गरेका हौं । संशोधन मार्फत नाम बिनको सातबाट आठ वा नौ बाटै राज्य बनाइए पनि देशले सहज निकास पाउने छैन ।

प्रकाशित : १३ मंसिर २०७३, सोमबार ००:००