७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

संशोधनका लागि राजनीतिक दलबीच सहमतिभन्दा अर्को विकल्प छैन : सभामुख घर्ती



काठमाण्डौ  । सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताएकी छिन् । रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन् ‘संविधान संशोधनको विषय चलिरहेको छ, दलहरुले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनुपर्छ ।’

‘अवश्य पनि दलहरुका बीचमा छलफल र बहस हुन्छ, भिन्नभिन्न विचारको बीचमा प्रतिस्पर्धा हुन दिनुपर्छ, तर निष्कर्ष आउने बेलामा दलहरु एक ठाउँमा उभिनुपर्छ’ सभामुख घर्तीले भनिन् ।

संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउने सन्दर्भमा सबै राजनीतिक दलबीचमा सहमतिभन्दा अर्को विकल्प छैन, हुनुहुँदैन पनि स् उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा चलिरहेको महाभियोग प्रस्तावसम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले बताइन् ।
नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसद्को एक प्रतिनिधिमण्डल यही मङ्सिर ४ गते त्यसतर्फ गएको थियो ।

सभामुख घर्तीले रुसमा रहँदा त्यहाँको माथिल्लो सदनका अध्यक्ष र तल्लो सदनका उपसभामुखसँग औपचारिक रुपमा भेटवार्ता गरिन् ।

भेटका अवसरमा दुई देशबीच रहँदै आएको राजनीतिक र आर्थिक सम्बन्धका विषयमा विचारविमर्श हुनुका साथै आगामी दिनमा आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको सभामुख घर्तीले भनिन् ।

सो अवसरमा सभामुख घर्तीले देशको समृद्धिका लागि नेपालको संविधान कार्यान्वयनको स्थितिमा रहेको हुँदा विदेशी लगानीका लागि राम्रो वातावरण बन्दै गएको बारे आफ्ना समकक्षीलाई जानकारी गराइन् ।

नेपाल र रुसबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न दुवै मुलुकबाट उच्चस्तरको भ्रमणको आदानप्रदानको आवश्यकतामा जोड दिँदै रुसी अधिकारीहरुले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र रुसले समान धारणा राख्दै आएको हुँदा यसले पनि सम्बन्ध विस्तारमा योगदान पुग्दै आएको बताएका थिए ।

सभामुखका साथ केही सांसद र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई थिए । रासस

 

प्रकाशित : १२ मंसिर २०७३, आइतबार ००:००