१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

केन्द्र सार्न उदयपुर जिविसमा धर्ना



tudikhel-gaighat

उयदपुर, ७ मंसिर । उदयपुरका ५ गाविसबासीले प्रस्तावित रौतामाई गाउँपालिकाको केन्द्र सार्न माग गर्दै जिल्ला विकास समितिको कार्यालयको अगाडि मंगलबार धर्ना दिएका छन् ।
यसअघि निर्णय भएको भुटार गाउँपालिकाको केन्द्र छेउ पर्ने भन्दै जिल्लाका रौता, पोखरी, लाफागाउँ, आँपटार र नामेटारबासीले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति उदयपुरको सचिवालय जिविसमा धर्ना दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओबादी केन्द्र, राप्रपालगायत सबै पार्टीसँग आबद्ध लगभग २ सय ५० हाराहारी महिला पुरुषको समूहले जिविस प्रांगणमा धर्ना दिएका हुन। प्रस्तावित गाउँपालिकाको बीचमा पर्ने रौताको सीमास्थल चिसापानीमा केन्द्र सार्न माग गर्दै उनीहरु धर्ना बसेको आँपटारका एमाले जिल्ला सदस्य तामिन्द्र राईले बताए ।
जनताको माग विपरित निर्णय गरेको भन्दै स्थानीयले हस्ताक्षर संकलन गरी सर्वदलिय बैठक निर्णयसहितको ज्ञापनपत्र केहि दिनअघि नै जिल्ला प्रशासन कार्यालयमार्फत गाउँपालिका, नगरपालिका तथा विशेष, स्वायत्त वा संरक्षित क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगमा बुझाईसकेका छन् । जनताको चाहना विपरित प्राविधिक सहयोग समितिले केही नेताको नीजि स्वार्थमा लागेर भुट्टारमा केन्द्र तोक्दा सबैलाई मर्माहत पारेको हुनाले केन्द्र सार्न आफुहरु धर्नामा उत्रिएको संघर्ष समितिका संयोजक कमल राईले बताए ।
धर्ना दिनभर बसेको छ भने सम्बोधन नभएमा बुधबारदेखि थप आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका एमाले नेता केशब राईले बताए ।
उता प्राविधिक सहयोग समिति संयोजक तथा स्थानीय विकास अधिकारी गणेश दाहालले उदयपुरको पुनर्संरचनाको निर्णय सर्बसम्मत गरेर पठाइएको भए पनि असन्तुष्ट पक्षको माग आएकाले त्यसबारे पुनः राजनीतिक दलहरुसँगै छलफल चलाएर निकास निकाल्ने बताए । लोकतन्त्रमा सबैले असन्तुष्टि राख्न, विरोध र धर्ना दिन पाउने अधिकार सुरक्षित भएको उनको भनाई छ ।

प्रकाशित : ७ मंसिर २०७३, मंगलबार ००:००