७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

भोजपुर सदरमुकाममा आगलागी, १२ घर नष्ट



भोजपुरः भोजपुरको सदरमुकामा भोजपुर बजारमा आइतबार अपरान्ह आगलागी हुँदा १२ घर जलेर नष्ट भएको छ । अचानक बजारमा फैलिएको आगो प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयले २ घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणकालागि दमकल र डोजर प्रयोग गरिएको थियो ।

आइतवार अपरान्ह पौने पाँच बजेबाट बजारको भोटेपसलस्थित मिलन ज्वेलर्स रहेको घरबाट सुरु भएको आगोले १२ वटा घर पूर्ण रुपले जलेका हुन् । आगलागीबाट लालबहादुर विक, थिरबहादुर विक, गणेश श्रेष्ठ, बद्री राना र अर्बिन बिकसहितको घर जलेका हुन् । आगलागी शुरु भएको केही बेरमै आठवटा घर जलेका हुन् । कच्ची तथा पुराना घरहरु भएको स्थानमा बिजुली सर्ट भएर सुरु भएको आगो केही क्षणमै बजारमा फैलिएको थियो ।

दुई लाइनमा रहेका घरहरुबीचको साँघुरो बाटोमा दमकल जान नसक्दा आगो निभाउन समस्या भएको थियो । आगो निभाउन स्थानीयबासी, सेना र प्रहरीको टोली खटिएका थिए । आगो नियन्त्रणमा लिने क्रममा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।

आगोबाट तीनवटा सुन पसल, एउटा होटल, एउटा किराना पसल पुरै जलेका छन् । तर क्षतिको एकिन विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

नयाँपेजबाट

प्रकाशित : ५ मंसिर २०७३, आइतबार ००:००