७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

माननीयहरुको सुविधामा भारी वृद्धि । मासिक एक लाख बढि पाउने 



काठमाडौँ । सांसदहरुले पाउने सुविधामा भारी वृदि भएको छ । सांसदहरुको तलव भत्ता मासिक एक लाख भन्दा बढि भएको छ । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता एक हजार रुपैयाँ पाउनेछन् । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । प्रस्तावित दैनिक पैदल भ्रमण भत्ता भने खारेज भएको छ ।

सरकारले पेश गरेको संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित भएसँगै सांसदको सेवा सुविधा बढेको हो ।
विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले समयानुकूल जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए ।

यस्तो छ सांसदको तलब सुविधा

सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । दैनिक बैठक भत्ता एक हजार । यसअघि बैठक भत्ता दुई सय रुपैयाँ पाउँदै आएका थिए ।

त्यस्तै आवास १८ हजार, टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार, धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक–एक हजार पाउनेछन् । यो सबै गर्दा एक जना सांसदले मासिक ८० हजार २ सय ३० लिनेछन् ।

यस्तै यातायात सुविधा भनेर प्रतिदिन एक हजार पाउनेछन् । सांसदहरुको दैनिक भ्रमण भत्ता २५ सय तोकिएको छ । एक सांसदले समग्रमा हरेक महिनामा न्युनतम एक लाख ७ हजार ७३० रुपैयाँ बुझ्ने देखिन्छ । यसबाहेक १० लाखको यात्रा विमा र बार्षिक फर्निचर खर्च १५ हजार हुनेछ ।

प्रकाशित : ५ मंसिर २०७३, आइतबार ००:००