८ बैशाख २०८१, शनिबार । April 21, 2024

समाचार

तरुण दलको महाधिवेशन यसै महिना



tarun

दुईपटकसम्म स्थगीत कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ ।

तरुण दलले विहीबार यहाँ पत्रकार सम्मेलन गरी केही जिल्लामा विवाद भए पनि जुनसुकै हालतमा महाधिवेशन हुने जनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभागबाट गरी १३ सय प्रतिनिधिको सहभागिता रहने तरुण दल अध्यक्ष उदय शमसेर राणाले बताए ।

‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘विभिन्न २२ उपसमिति गठन भएर काम अघि बढेको छ । आवास र भोजनलगायत अन्य व्यवस्थापनको काम भइरहेको छ ।’ उनले बन्द सत्रमा युवा र देशको रानीतिक अन्यौलताबारे व्यापक छलफल गरिने बताए ।

नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, उदयपुर, सुर्खेत, धादिङ जिल्लामा विवाद देखिएको राणाले बताए । तर ती जिल्लामा नगर र क्षेत्रीय अधिवेशन भने सम्पन्न भएकाले जिल्लाबाट नभए पनि नगर र क्षेत्रका प्रतिनिधिले भाग लिन सक्ने उनको भनाई थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य सुरेन्द्र पाण्डेले निर्देशन समितिले नै मिति तोकेकाले अव नसर्ने दाबि गरे । विवादित जिल्लाको टुंगो लगाउन अझै पनि केही समय बाँकी रहेको भन्दै कात्तिक २४ भित्र अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा भाग लिनसक्ने अवस्था रहेको उनले बताए । ‘तोकिएकै मितिमा महाधिवेशन हुनेछ,’ पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘अब मिति सर्दैन ।’ उनले ७२ जिल्लाबाट महाधिवेशनमा भाग लिनसक्ने संभावना रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार पाण्डे र राणा बिहीबार पोखरा आएर तयारीबारे स्थलगत निरीक्षण गरेका हुन । उनीहरुका साथै ४ नम्बर प्रदेश अन्तर्गतका तरुण दलका जिल्ला अध्यक्ष, पूर्व केन्द्रीय सदस्यलगायत नेताहरुले तयारीबारे छलफल गरेका थिए ।

 

प्रकाशित : १८ कार्तिक २०७३, बिहिबार ००:००