३ बैशाख २०८१, सोमबार । April 15, 2024

तस्बिर

दयाहाङ भन्छन् – मायाको स्वाद पहिलेनै चाखेको राम्रो



दयाहाङ राईद्धारा अभिनित चलचित्र कबड्डी र कबड्डी कबड्डीको काजी चरित्र पनि गजबले जम्यो । त्यस चलचित्रको डायलग “मन परेको जुत्तापो जुत्ता नत्र खाली खुट्टै ठिक छ” भन्ने डायलग युवापुस्ताले कण्ठै गरे । अहिले भने प्रदर्शनमा आउन लागेको चलचित्र पुरानो ढुंगाको डायलग “मायाको स्वाद पहिलेनै चाखेको राम्रो” ले पनि युवापुस्ताको मुखमा झुन्डीन थालेको छ ।

dayahang-rai-1

गफाडी केटा, भविष्य थाहा छैन । साथमा सुको पैसा छैन । बेरोजगार छ । मौका पायो भने चोर्न समेत पछि पर्दैन । दिनहु रक्सी धोग्छ । मिल्यो भने खान्छ होईन भने भोकभोकै सुत्छ । जथाभावी बोल्छ, जो संग पायो त्यहिसंग भिड्छ पनि । कलाकार दयाहाङलाई फिल्म लुट चलचित्रमा ठ्याक्कै यस्तै पाराको चरित्रमा देखे सवैले । गोफ्ले नामक चरित्रमा रहेका राई लुटको सफलतासंगै निकै चर्चामा आए । उनले लुटभन्दा अगाडी कुनै फिल्म नखेलेका भने होईनन् । लुटबाट उनि एकाएक हिट भएपछि नेपाली फिल्म उद्योगमा रहेको एउटा मान्यता नै फेरियो ।

हिरो बन्नका लागी अग्लो कद, जीम गरेको सुगठित शरिर र राम्रो अनुहार भएको आर्यन केटा नै हुनुपर्ने भन्ने मान्यता एकाएक तोडियो । मंगोल अनुहार भएको डल्ले र भुडीवाल केटोले रातारात चर्चाको शिखर छोईदिएपछि वर्षौदेखि एउटै मान्यता रहेको नेपाली फिल्म उद्योगमा अभिनयको मुल्य हुन थाल्यो । उनको संवाद म्याचिस् र पात्र गोफ्ले उनको परिचय बन्यो । चलचित्र लुटको यो संवादले उनलाई कहांबाट कहां पुर्यायो । तर पनि उनि अभिनेतामा भने आउन सकेका थिएनन् । विस्तारै भने उनको चाहना पुरा हुंदैछ ।

चलचित्र झोले बाट मात्रै अहिलेका हटकेक कलाकार दयाहाङ अभिनेतामा आएका हुन् । यस अघि भने सह अभिनेतामा मात्रै सिमित थिए । उनले दर्जनौ हिट फिल्महरु खेलीसकेका छन् । भनिन्छ अहिले दयाहाङको अभिनय पछि सुस्ताएको नेपाली चलचित्रले केही राहत महसुस गर्दैछ । उनले चलचित्र दासढुंगामा ड्राइभरको रोल अमर लामालाई धेरैले रुचाए । त्यस पछिको चलचित्र लुटले यसका निर्माता, निर्देशक देखी कलाकार सवैलाई राम्रै फाइदै फाईदा दिन सक्यो । लुट चलचित्र सुपर डुपर भयो ।

loot-2-image-2

युवा पिढी बारे कथा उनेर बनाईएको चलचित्र छड्के भने खासै चलेन । तर पनि उनको अभिनयको प्रशंषा घटेनन् । चलचित्र सांघुरोले धेरै सञ्चारकर्मीको मन जित्न सफल भयो । हाईवेमा पनि अभिनय गरे । उनले त्यहां लाहुरेको भूमिका गज्जबले गरेका छन् । कर्कश चलचित्रमा पनि उनको अभिनय जम्यो । जसलाई आम दर्शकले रुचाए । उनीद्धारा अभिनित झोले, कबड्डी, राहदानीले पनि दर्शकको मन छुन सफल बन्यो ।

दयाहाङ को हुन् ?
दयाहाङ राई (जन्म विक्रम सम्बत २०३७ वैशाख ९ गते) बाबा (टिकाराम राई) र आमा (चन्द्रदेवि राई) को कान्छो सुपुत्रको रुपमा भोजपुरमा जन्म भएको हो । भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल बैशाख १ गते जन्म जन्मिएका अभिनेता दयाहाङ राई १६ वर्षसम्म खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईबस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यामिक विद्यालय भोजपुरमा एसएलसिसम्म अध्यन गरे ।

एसएलसिपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौ छिरेपछि नाटकमा लागेका थिए । नाटक गर्ने क्रममानै उनको प्रेम गायीका बेनुका राईसंग भयो । पछि उनै सित घरजम पनि गरे । बुबाआमाको कान्छो छोरा हुन उनि । बुबाआमा, दाई, दुई बहिनि, श्रीमति र भर्खर जन्मेको एउटा छोरो अहिले परिवारका सदस्य छन् ।
उनले अहिलेसम्म अढाई दर्जन नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय साथै ६ वटा नाटक निर्देशन गरेका छन् । उनको लोकप्रिय नाटक डिग्री माइला अहिले पुर्वका शहरहरुमा प्रदर्शन भैरहेको छ । अनौठो लाग्न सक्छ दयाहाङ राई अहिले नेपाली रजतपटमा लोकप्रिय छन् । तर जतिनै लोकप्रिय भएपनि उनका बुबा आमाले भने अहिलेसम्म छोराको चलचित्र हेर्न पाएका छैनन् । तर छोरोले नेपाली चलचित्र अभिनयमा सफलता पाएको भन्ने चाहि थाहा छ ।

दयाहाङद्धरा अभिनित चलचित्रहरु
उनको पहिलो चलचित्र अनागरिक हो जुन अहिलेसम्म हलमा रिलिज भएको छैन । मेरो एउटा साथी छ, दाशढुंगा, मेरो लव स्टोरी, लूट, हाईवे, छ्डके, बधशाला, कर्कस, साँघुरो, उमा, लोफर (चलचित्र), मुखौटा, झोले (चलचित्र), कबड्डी (चलचित्र), नागबेली, टलकजङ भर्सेज टुल्के, इक्षा, सम्बोधन (चलचित्र), वडा नम्बर ६, हाउ फन्नी, कबड्डी कबड्डी हुन् । चलचित्र पुरानो ढुंगा र लुट २ प्रदर्शनको क्रममा रहेका छन् भने भर्खरै चलचित्र घामपानीको छायांकन सकिएको छ ।

प्रकाशित : १३ कार्तिक २०७३, शनिबार ००:००