७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

समाचार

हङकङवाट ‘इलाम’ र ‘म फूल हुँ’



काठमाडौं, १० कात्तिक । इलाम समाज हङकङले गृहजिल्लालाई थप चिनाउने गरी ‘इलाम’ नामक स्मारिका प्रकाशनमा ल्याएको छ ।
पत्रकार÷लेखक सचित राईले सम्पादन गरेको ‘इलाम’ स्मारिकासहित इलामकै स्रष्टा स्वर्गीय डिल्लीराम बाङ्देल राईको कृति ‘म फूल हुँ’को राजधानीमा बुधबार आयोजित कार्यक्रममा लोकार्पण गरियो । राष्ट्रगान सर्जक व्याकुल माइला, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, समाजका सल्लाहकार गायक÷संगीतकार गणेश पराजुली, कवि डम्बर पहाडीलगायतले दुवै कृतिको लोकार्पण गरे । हङकङमै बसोबास गर्दै आएकी संखुवासभाकी तारा कुलुङ राईले बाङ्देलको कृति प्रकाशन गरेकी हुन् ।

राष्ट्रगान सर्जक माइलाले ‘इलाम’ स्मारिकाले इलाम बुझ्न मद्दत पुग्ने उल्लेख गर्दै यो सन्दर्भ–सामग्रीका रूपमा आएको टिप्पणी गरे । भने, “यो स्मारिकामा इलामका धेरै कुरा दस्तावेजीकरण भएका छन् । समग्रमा यो कृति इलाम चिनाउन महत्वपूर्ण रहनेछ ।”

कवि पहाडीले ‘म फूल हुँ’मा बाङ्देलका सशक्त सिर्जना समेटिएको टिप्पणी गर्दै यसले साहित्यिक जगतमा पृथक् स्थान बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, समाजका सल्लाहकार पराजुलीले आफूहरूले गृहजिल्लाका विभिन्न गतिविधिमा सहकार्य गर्दै आइरहेको जानकारी दिए । “यसपटक निकै ठूलो प्रयत्नपछि स्मारिका प्रकाशन गर्न सफल भएका छौं । अब पाठकको प्रतिक्रियाअनुसार अघि बढ्नेछौं,” उनले भने, “गृहजिल्लाका लागि हामी हङकङमा एकजुट भएका छौं । नेपालमा रहनुभएका इलामेले साथ दिनुभएको छ ।”

सम्पादक राईले समाजले जिल्लाका विभिन्न गतिविधिमा साथ दिँदै आएको उल्लेख गर्दै स्मारिका प्रकाशन जिल्लाको विकासका लागि महत्वपूर्ण काम भएको बताए । “हामीकहाँ भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने परिपाटी छ,” उनले भने, “सामाजिक–सांस्कृतिक विकासमा कम मात्रै बहस हुन सकेको छ । समाजले स्मारिका प्रकाशन गरेर सामाजिक–सांस्कृतिक विकासका लागि महत्वपूर्ण काम गरेको छ ।”

स्मारिकामा इलाम जिल्लाको ऐतिहासिक पक्षका साथै पर्यटन प्रवद्र्धन गर्ने सामग्री समेटिएको छ । त्यस्तै, अर्को कृतिमा कविता, गीत, गजल र मुक्तक संग्रहित रहेको जनाइएको छ । कार्यक्रममा सुमाया राईको शब्द रचना, रेवत राईको स्वर÷संगीत रहेको ‘सम्झना ताजा छ’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००