१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Life Style

रहरलाग्दो राँके

स्थानीय उत्पादन र जडिबुटिजन्य वस्तुको फस्टाउँदो ब्यापार



unnamedपाँचथर । पाँचथर-इलाम सिमावर्ती राँके बजारको आफ्नै चिनारी र पहिचान छ । मेची राजमार्गले चिरेको यो सानो सुन्दर लेकाली बजारमा हिऊँद–वर्खा चिसो हुन्छ । एकैछिनमा घामको न्यानो स्पर्शले चुम्छ । एकैछिनमा बाक्लो कुहिरोले छोपिदिन्छ राँके बजारलाई । छिनछिनमै फेरिइरहने यहाँको मौसम पहिलोपल्ट राँके पुग्ने आगन्तुकहरुका लागि कसहिरो र घामको लुकामारि देखेर रोमाञ्चित हुन्छ ।
भुइँकुहिरोको घुम्टोभित्र लुकेर तातो कफि अथवा यहीं उत्पादन हुने लेकाली अग्र्यानिक ग्रिन टी (परम्परागत प्रविधिबाट बनाइएको चिया)को चुस्की लिंदै प्रायः सबैजसो स्थानीय होटलमा उपलब्ध हुने कोइले चुल्होमा आगो ताप्दै गफिनुको मजा छुट्टै छ । मौसम छ्याङ्ग हुँदा रहरलाग्दा नागी चउर, साना–साना थुम्की, धुपी सल्लाको जङ्गल र बुट्यानहरुको दृष्यावलोकन गर्दै रमाउनुको आनन्द बेग्लै छ । गाडिमा हिंड्ने यात्रुहरुले समेत राँके बजारको सुन्दरता नियाल्दै आनन्द लुट्न सक्छन् । झापा–इलाम हुँदै फिदिम–ताप्लेजुङ चढ्ने होस चाहे उताबाट तल झर्ने यात्रुवाहक सवारीका साधन राँके पुगेपछि एकैछिनलाई भए पनि रोकिएर मात्र जान्छन् ।
यिनै विशेषता र पहिचानले चिनिएको राँके बजारले पछिल्लो समय छुट्टै चिनारी समेत बनाएको छ । त्यो हो स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको फस्टाउँदो ब्यापार । राँकें पुग्ने जो–कोहीले पनि स्थानीय उत्पादन अकबरे खुर्सानी, नौनी घीउ, छुर्पी, ललिपप, मेलचुक, अग्र्यानिक ग्रिन टी, ब्ल्याक टी, लेकाली जडिबुटिजन्य वस्तुहरु चिम्फिङ, खानाक्पा, टिमुर आदिको लोभलाग्दो ब्यापार देख्न सकिन्छ ।
सडक किनारामै थापिएका स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको लोभलाग्दो पसलले राँके पुग्ने जो कोहिको पनि मन तान्छ । विभिन्न साइजका बट्टामा नुन, तेल, मसला लगायतका आवस्यक सामग्री लगाएर तयार पारिएका जडिबुटि १ सय ५० देखि ३ सय सम्ममा बिक्री हुने अनुशा भेराइटिजका प्रोपाइटर अनिता तामाङले बताइन् । ‘मासुका परिकार, अचार र तरकारीमा प्रयोग गरिने यी जडिबुटिजन्य वस्तुले औषधीको काम समेत गर्छ’ अनुशाले भनिन् । लेकको जङ्गलमा सित्तैमा टिप्न पाइने यी जडिबुटी आफूहरुले भने स्थानीय मार्फत् किनेर तयार गर्ने गरेको अनुशाको भनाई छ । ‘समय हुनेले आफैं पनि लेक गएर टिपेर ल्याउँछन्’ उनले भनिन् ।
स्थानीय उत्पादनमा अकबरे, नौनी, छुर्पी, ललीपप, लेकाली ग्रिन टि र ब्ल्याक टी राँकेको मौलिक चिनारी हो । नजिकैको लिचिङ्देन गाविसमा उत्पादित अकबरे बाहिर बजार सँगै राँके बजारमा बेचिन्छ । सो गाविसलाई जिल्ला कृषि विकास कार्यालयले अकबरेको लागि पकेट क्षेत्र नै घोषणा गरेको छ । राँकेमै डेरी र चिज उद्योग सञ्चालनमा छन् । लेकाली अग्र्यानिक ग्रिन टी उद्योग पनि राँकेमै छ । ती उद्योगमा उत्पादित उत्पादनहरु जिल्ला बाहिर निर्यात हुनुका साथै राँके बजारमा बित्रिी–वितरण गरिने राँके बजार ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष फेजोङको भनाई छ ।
पाँचथरको पौवासारतपा–७, लिलिङ्देन–४ र इलामको चमैता–२ को संगमस्थल राँके बजार मेची राजमार्गको पहँुचमा रहेकाले पनि मानिसहरुको बाक्लो आवत–जावत हुने स्थानीय टेक चेम्जोङको भनाई छ । राँके–रवि सडक खण्ड पनि यहिंबाट छुटिन्छ । सो बाटो हुँदै घुर्विसे पञ्चमी, दशमी, आरुबोटे, चिसापानी पञ्चमी लगायतका सवारी साधन गुड्छन् । जसको बिसौनी राँके बजार नै हो । त्यसले पनि राँके बजारको व्यापारलाई फस्टाउँन सहयोग गरेको चेम्जोङको भनाई छ ।
प्राकृतिक सुन्दरता सँगै स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको ब्यापारले राँकेलाई साँच्चिकै रहरलाग्दो बनाएको यो बाटो हुँदै यात्रा गर्ने यात्रुहरु बताउँछन् ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००