१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

तस्बिर

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो



पोखरा, ५ कात्तिक । विश्वमै पर्यटकीयरूपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् ।

पोखराको पर्यटनको मुख्य याम अक्टोबर र नोभेम्बर महिना भए पनि यस याममा अपेक्षित विदेशी पर्यटक पोखरामा नआएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली बताउनुहुन्छ ।

अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटन यस वर्ष सुधार हुने अपेक्षा भए पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन नसकेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको बताउँदै पराजुलीले दसैँ पछिको केही दिन भने आन्तरिक पर्यटकका कारण पोखराका होटेल भरिभराउ भएको जानकारी दिनुभयो । भूकम्पअघि नेपालमा वार्षिक आठ लाखको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको भएपनि गत वर्ष लगभग पाँच लाखको सङ्ख्यामा विदेशी पर्यटक आएको पराजुलीको भनाइ छ ।

“नेपालमा दुई छिमेकी राष्ट्र भारत र चीनबाट पर्यटकलाई नेपालमा ल्याउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको ‘चलिए पोखरा’ कार्यक्रम जस्तै चिनियाँ पर्यटकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् ।

पोखरामा लगभग रु एक खर्बभन्दा बढी लगानी गरेर पर्यटकलाई लक्षित गरी बनाइएका सुविधासम्पन्न होटेलको सङ्ख्या चार सयभन्दा बढी छ जसमध्ये दुई पाँचतारे र १२ तीनतारे होटल रहेका छन् । अक्टोबरदेखि डिसेम्बरको मध्यसम्म पोखराको पर्यटनको महत्वपूर्ण याम रहेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले विशेषगरी यस समयमा युरोपेली राष्ट्रका पर्यटक पर्वतीय पर्यटनका लागि आउने गरेको बताउनुभयो ।

यस वर्ष याम सुरु भइसके पनि अपेक्षित विदेशी पर्यटकको आगमन हुन नसकेको बताउँदै उहाँले अधिकतम सङ्ख्यामा पर्यटक भित्र्याउनका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गम्भीर रूपमा सोच्नु आवश्यक रहेको बताउनुभयो । पर्यटकलाई आकर्षण गर्ने किसिमका पर्यटकीय गतिविधिको विस्तार आवश्यक रहेकोमा थापाको जोड छ ।

भूकम्पअघिका वर्षमा पोखराको लेकसाइड क्षेत्रमा विदेशी पर्यटकको चाप हुने गरे पनि त्यसपछि भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढेको होटल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थी बताउनुहुन्छ । हाल होटलमा ५० प्रतिशत विदेशी पर्यटक रहेको बताउँदै पन्थीले अन्य ५० प्रतिशत पर्यटक नेपाली रहेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षणका कारण पोखराका होटलमा लगानी गर्ने क्रम पनि उत्तिकै बढेको छ । केही वर्षयता नेपालीमा घुमफिर गर्ने संस्कृति विकास भइरहेका कारण पोखरा आन्तरिक पर्यटनको आकर्षण बन्दै गएको हालै सञ्चालनमा आएको होटल प्राइम, लेकसाइडका सञ्चालक विष्णुबहादुर क्षेत्रीले बताउनुभयो ।

“छिमेकी राष्ट्र भारत र चीनका पर्यटकलाई अधिकतम रूपमा पोखरा ल्याउने वातावरण तयार गर्नुपर्छ,” उहाँले भन्नुभयो, “स्वदेश भित्रै आन्तरिक पर्यटनलाई विकास गर्ने कुरा राज्यको प्राथमिकतामा पर्नु अपरिहार्य छ ।” रासस

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००