१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

एमालेको सहमतिबिना संविधान संशोधन हुन्न : मन्त्री भण्डारी



कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् ।

नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उनले बताए । सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिए । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उनले बताए ।

संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ, मन्त्री भण्डारीले भने “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।” स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उनको जिकिर छ ।

राइनो संरक्षण गोल्डकप प्रतियोगिताको उद्घाटन सत्रमा नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले संरक्षण र स्थानीय बासिन्दाको मागलाई सँगसँगै लैजानुपर्ने बताए । अर्का सांसद नवलपरासी क्षेत्र नंं ५ का विक्रम खनालले संरक्षणको भावना युवामा ल्याउन खेल महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा एमाले नेता तिलक महत, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललगायतले बोलेका थिए । रासस

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार ००:००