काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणको लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अब भरोसा र उत्साहका साथमा कदम अगाडि बढाउने वातावरण बनेको बताउनुभयो । देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसको बिच समझदारी बेनेको पौडेलले जानकारी दिनुभयो ।
हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी आली केही दिनमा देशको प्रधानमन्त्री बन्न लाग्नुभएकोले अब देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । ‘त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यस भित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ’, उहाँले भन्नुभयो ।
उहाँले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना गर्नुभयो । नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै पौडेलले यो अझ अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
२२ असार २०८१, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया