११ चैत्र २०८०, आइतबार । March 25, 2024

Breaking

म्यूजिक भिडियोमा जम्दै नायक धिरेन शाक्य



काठमाण्डौ । एक समयका चर्चाका अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिँदै मात्र होइन प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् ।

यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केहि डर’ बोलको गीतमा धिरेन जोडिएका छन् । सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन् । अनिता उनै हुन् जसले २४ वर्षपहिले सार्वजनिक चर्चाको अनि हिट फिल्म ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् । एक्सन फिल्म ुकमाण्डोु सँगै केसीले सेतोबाघ, छहारी, बसन्ती, सजायदेखि पूर्व पश्चिम लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छिन् ।

एकसमयका चल्तिका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन् ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको छ । बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । सबै कलाकारले जीवन्त अभिनय पस्केका छन् ।

उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए ।

प्रकाशित : १० माघ २०७९, मंगलबार ००:००