१० चैत्र २०८०, शनिबार । March 23, 2024

Breaking

वैदेशिक रोजगारिमा रहेका बहुसंख्यक श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा समेट्नु पर्छ



गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले संघले स्थापना कालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

विदेशमा रहेका श्रमिकको श्रमको ठुलो हिस्सा नेपालमा रेमिटेन्सको माध्यमबाट भित्रीरहेकोले उनीहरुलाई आफ्नो देश प्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन सक्ने उहाँको भनाइ थियो ।

संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, कानूनी लगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उहाँले सरकारसंग सहकार्यका लागि तत्पर रहेको बताउनुभयो ।

अध्यक्ष थापाले नेपाली कामदरहरुलाई वैदेशिक रोजगारमा जानु अघि अनिवार्य रुपमा सीप मुलक तालिम र गन्तब्य मुलुकको भाषा र रहन सहन बारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।

यसका लागि ७ वटै प्रदेशमा सीप तालिप केन्द्र स्थापना गर्न जरुरी रहेको र यसका लागि संघले नेपाल सरकारसंग समन्वय गरिरहेको छ ।

संघले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्नको लागि नेपाल सरकारसँग पहल गर्दै आएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरीय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर सम्पन्न भईसकेको छ । सो सम्झौता पत्रको अनुरुप सहकार्य गरि संघ अघि बढ्न तयार रहेको अध्यक्ष थापाको भनाइ छ । त्यो सम्झौतालाई कार्यान्वयनमा ल्याउन समेत उहाँले सरकारसँग आग्रह गर्नभयो ।

देशमा रहेका नेपालीको सामाजिक सुरक्षाका लागि रोजगारदाता मुलुकलाई पनि जिम्मेवार बनाउन पहल गर्नु पर्ने आवश्यकता उहाँले जोड दिनुभयो । जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरुको जीवन यापनका लागि सामाजिक सुरक्षा अनिवार्य रहेको उहाँले बताउनुभयो ।

अहिले सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई यो योजनामा जोड्नका लागि आवश्यक कार्यविधि संशोधनसहित पारित भइसकेको तर कार्यन्वयनमा आउने तयारी भइरहेको जानकारी दिनु भयो । यसैगरी अध्यक्ष थापाले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन, नेपालमा सीप तथा तालिम केन्द्र स्थापना गर्न र रिइन्ट्रिग्रेसनमा संघले सरोकारवाला निकायहरुसंग पहल गरिरहेको जानकारी कार्यक्रममा गराउनु भयो । त्यसमा संघ नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार ००:००