१० चैत्र २०८०, शनिबार । March 24, 2024

Breaking

नेदरल्यान्डस्सँग पराजित दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा



नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह टु बाट दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सपनामा धक्का लागेको छ ।

दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ । यी दुई टोली आज हुने खेलमा आमने सामने हुँदैछन् । भारत एक खेल अगावै विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा उपविजेताका दौडमा बंगलादेश र पाकिस्तान रहेका छन् । यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेदरल्यान्ड्ले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटियो । दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे । नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका कोलिन एकेरमनले २६ बलमा ३ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन जोडे । त्यस्तै ओपन स्टेभन माइबर्गले ३७ रन जोडे । दक्षिण अफ्रिकाका केशब माहाराजाले २ विकेट लिए ।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार ००:००