१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

भेडेटारमा गीत शिविर तथा राष्ट्रिय स्रष्टा सम्मान



गीतकार सङ्घ नेपालको गीत शिविर–विमर्श एवं राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रममा प्रदेश प्रमुख माननीय परशुराम खापुङ प्रमुख अतिथित्यतामा सम्पन्न भएको छ । धनकुटाको भेडेटारस्थीत भिलेज रिसोर्ट नाम्जेमा भएको कार्यक्रम प्रदेश प्रमुख सरिक हुनुभएको हो ।

सङ्घले अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान र डायास्पोरा सम्मान, विष्णु–मनसरा घले मातृभाषा सम्मान –२०७८ पनि वितरण गरेको थियो । संघले यस वर्षको ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७८’ नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा विर्तामोड निवासी अग्रज गीतकार शिवशंकर थापालाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै ‘डायस्पोरा गीतकार सम्मान’ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पु¥याएबापत अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने गीतकार गीता खत्रीलाई प्रदान गरिएको छ । उहाँलाई १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान–२०७८’ बाट तामाङ भाषाका लागि रामेछाप निवासी गीतकार प्राज्ञ मानबहादुर दोङ तामाङलाई प्रदान गरिएको छ । उहाँलाई २५ हजार २५२ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

‘वर्ष गीत पुरस्कार २०७८’ का लागि वीरेन्द्र राईको ‘रैछाकुले म’, टीका भट्टराई नेपालको ‘मनका रंगहरू’ र विजय कट्टेल ‘छहरा’को ‘देशकै माया लाग्छ’ छनोट भएका थिए । त्यसैगरी उत्कृष्ट १० गीत छनौट गरी वर्ष गीत –२०७८ का लागि एचके धिताल र अगम विकराललाई परस्कृत गरिएको थियो । वर्ष गीत र वर्ष पुस्तकलाई ५७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा पुरस्कृतलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, साँगुरीगढि गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको समेत उपस्थिति थियो ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार ००:००