७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

Breaking

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गार्छौ : पर्यटनमन्त्री श्रेष्ठ



कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनुभएको छ ।

सोमवार तिलौराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ । तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रकृया पुरा गरिने उहाँले बताउनुभयो । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

तिलौराकोट दरबारको समुचित विकास एंव प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताउनुभयो । सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो । भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ००:००