१२ आश्विन २०७९, बुधबार । September 28, 2022

Breaking

पर्यटक पर्खिरहेको जैमिनी



जैमिनी नगरपालिका आफैमा प्राकृति र संस्कृतिको वरदान हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योग,साधना र तपस्या गरेको पुण्यभूमि हो । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने जैमिनी नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसम्म जोडिएको छ । यो नगरपालिका साविक गा।वि।स कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ ।

जैमिनी नगरपालिकाको पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग सिमाना जोडिएको छ । औद्योगिक, पौराणिक, धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावनाको खानी जैमिनी कला, साहित्य, संगीत,भाषा र संस्कृति मात्रै होइन् लोकगीतको उद्गम थलोको रुपमा इतिहासमा दर्ज छ । जैमिनीघाटदेखि हाँडिकोटसम्मका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्यहरुको पहिचान,संरक्षण र प्रवद्धन गर्न सके जैमिनी नगर आर्थिक समृद्धितर्फ अग्रसर हुन सक्ने कुरामा कुनै शंका छैन् ।

जैमिनिश्वर महादेवको मन्दिर

बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक, समाधिस्थल एवं पर्यटकीय महत्व बोकेको जैमिनी घाट छ । जिल्लाको दक्षिणी भेग र पर्वत जिल्लाको उत्तरी भेगका करिब एक दर्जन गा.वि.समा बसोबास गर्ने व्यक्तिहरूको दाहसंस्कार गर्ने स्थलका रूपमा जैमिनि घाट सुप्रसिद्ध छ । जैमिनी ऋषिले योग, साधना र तपस्या गरको घाट भएकाले यसलाई जैमिनी घाट भनिएको हो । संस्कृतको ‘घट्ट’ शब्दले नदिको किनार बुझाउँछ । ‘घट्ट’ शब्द अपभ्रंस भएर ‘घाट’ शब्द विकसित भएको हो । स्थानीयले जैमिनी घाटलाई ज्यामिर घाट भन्ने गरेका छन् । त्यही जैमिनी घाटमा रहेको मन्दिरलाई जैमिनिश्वर महादेवको मन्दिर भनिन्छ ।

जैमिनिश्वर महादेवको मन्दिरको स्थापना वि सं १९९० तिर भएको मानिन्छ । वि.स. २०१६ सालतिर जिर्णोद्वार भएको अनुमान गरिन्छ । उहीबेला जागिरका सिलसिलामा भारत गएका केही भक्तजनहरूको सक्रियतामा अर्थ संकलन गरी वि.स. २०४१ मा स्थानीय व्यक्तिहरूको श्रमदान संगै जैमिनिश्वर महादेव मन्दिर वर्तमान स्वरुप खडा भएको हो । दाहसंस्कारका लागि जैमिनी घाटमा पुर्याएपछि दाउरा घरैबाट लगेर वा किनेर डढाउने र नसक्नेले नदीको किनारमा दवाउने वा बगाउने चलन पनि छ । पहिले माघेसंक्रान्तिका दिन जैमिनिघाटमा तीनदिनसम्म मेला लाग्दथ्यो । मेला भर्न कास्की स्याङ्जा, गुल्मी समेतवाट आउने गर्थे । वाला चतुर्दशीका दिन शंङ्खेढुंगा वरपर नदी किनारमा सतवीज छर्न आजजसो देखि नै मानिस जम्मा हुन्थेँ । घाटको नदी किनारमा उज्यालो नहुँदासम्म भक्तजनहरूले भजनकृतन गर्ने र उज्यालो भए पछि गंगा स्नान गरेर सतवीज छर्ने गर्थे । तर, विसं २०४८ सालको माघेसंक्रान्तिको दिन मेलामा अज्ञात व्यक्तिद्वारा इन्सपेक्टर ज्ञानेश्वर वैद्यको हत्या भएपछि सुरक्षाको कारणले अर्को वर्षदेखि त्यहाँ मेला लाग्न छाड्यो । अझै पनि श्रदालु भक्तजन भने माघेसंक्रान्तिमा स्नान गर्न आउँछन तर पहिले जस्तो रमाइलो हुन छाडेको छ । माघेसंक्रान्ति मेला भने कुस्मिसेरा बजारमा हुने गरेको छ ।

जैमिनिश्वर महादेवको मन्दिरको दैनिक पुजा खर्च र पुजारीको जीवन वृत्तिका लागि साबिकको बिनामारे गाविसको वडा नं १ मा करिब सात मुरी धान फल्ने खेत मन्दिरका नाममा दर्ता गरिएको छ । जैमिनी घाट पञ्चायतकाल सम्म अमलाचौर गाविसमा पर्दथ्यो भने त्यसपछि जैमिनी घाटलाई कुश्मिसेरा गा.वि.स.मा समावेश गरिएको थियो । जैमिनीघाटको धार्मिक र सांस्कृतिक महत्वलाई व्यापक प्रचार प्रसार गर्न २०४२ सालमा योगी नरहरिनाथको सक्रियतामा स्याङ्जाका पं. कमलाकान्ता सुवेदीको प्रमुख वाचकत्वमा शिवपुराण महायज्ञ संचालन भएको थियो । त्यही यज्ञशेषबाट जैमिनीघाटमा वि.स.२०४२ सालमा वेद र वेदाङ्गका विषयहरु पठनपाठन गर्ने उद्देश्यले जैमिनी संस्कृत पाठशाला स्थापना गरिएको थियो । पाठशाला केही वर्षपछि स्थानान्तरण भएर दमेकको शिवपुरीमा हाल सम्म सञ्चालन हुँदै आएको छ ।
जैमिनी घाट जस्ता ऐतिहासिक तीर्थस्थलहरुमा पर्यटन विकासको प्रचुर सम्भावना छ। निर्माणाधीन कालीगण्डकीले करिडोरले जैमिनिघाटलाई पनि छोएर जाने भएकाले जैमिनिघाटदेखि रिडी सम्म कालीगण्डकीमा र्याफ्टिङको सम्भावना उत्तीकै छ । मुक्तिनाथ तर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जैमिनी तर्फ पनि आकर्षित गर्न सकिन्छ । तर, अहिलेससम्म राज्यबाट करिब–करिब उपेक्षित रहँदै आएको जैमिनी घाटमा पर्यटनको विकास हुन सक्यो भने स्थानीय जनता र जैमिनी नगर समेत आर्थिक समृद्धितर्फ अग्रसर हुन सक्ने सम्भावना देखिन्छ ।

कसरी पुग्ने घाट ?
बाग्लुङ जिल्ला सदरमुकामदेखि करिब २० किलोमिटर दक्षिणमा कालीगण्डकीको किनारामा जैमिनिघाट अवस्थित छ । पश्चिमतर्फबाट बगेर आउने ठेउले खोला जैमिनिघाटमा आएर मिसिएको छ। जैमिनिघाटको पूर्व तर्फ पर्वत जिल्लाको देवीस्थान गाविस अन्तर्गतको फलेवास गाउँ रहेको छ भने दक्षिणमा बाग्लुङ जिल्लाको बिनामारे गाविस पर्दछ। बाग्लुङ देखि कुस्मीसेरा सम्मको कच्ची सडक अन्तर्गत टुनीबोट गाउँबाट करिब २० मिनेटको ओरालो लागेपछि जैमिनिघाट पुग्न सकिन्छ भने पर्वत जिल्लाको फलेबासको डिलबाट करिब–करिब १५ मिनेट ओरालो झरी पुल तरेर पनि जैमिनिघाटमा पुग्न सकिन्छ ।



रिठेडाँडा र शङ्खे पहरा
साविकको विनामारे वडा नं ७ र ८ को जोर्ते देउराली देखी थापाथर सम्मको फैलिएको समुन्द्रि सतहदेखि एक हजार ३ सय २४ मिटर अग्लो, रमणीय तथा पर्यटकीय डाँडा नै रिठेडाँडा हो । यहाँ वि.स १९५७ सालमा निर्मित चौतारी र ऐतिहासिक पोखरी रहेको छ । पोखरीमा प्राचिन कलात्मक मौलो, नजिकै दुर्गा भवानीको मन्दिर र शङ्खे पहरा पनि रहेको छ । यो रिठेडाँडा डाँडा मात्रै नभएर अहिले ऐतिहासि,सांस्कृतिक तथा धार्मिक स्थलको संगमका रुपमा विकास हुँदै छ । धार्मिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसित कतै समथर, कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट ३६० डिग्रीमा मनोरम हिमशृङ्खला, प्राचिन पहाड, फाँट र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । प्रकृतिक छटाले सजिएको रिठेडाँडा साँझ विहान युवायुवतीहरु टहलिदै, सेल्फी लिन, टिकटक बनाउने रोमाञ्चक गन्तब्यको रुपमा रोज्ने गरेका छन् ।रिठेडाँडाको अग्लो चुचुरो तल अक्करे भिर छ । भिरमा अलौकिक पहरा छ ।

विनामारेकाे शङ्खे पहरा

पहराको प्वाल फुक्दा शङ्खको झैँ ध्वनि निस्कने पहरा यहि पर्दछ । जसलाई स्थानीयले शङ्खे पहारा वा शङ्ख ढुङ्गा भन्ने गर्दछन् । वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ भने सुक्खायाममा प्वालमा पानी हाल्दै बजाउने गरिएको छ । शङखे पहरालाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँले लागिपरेका छन । शङ्खे पहराको तलपट्टी देवीदेउताका प्राकृति आकृति देख्न पाइन्छ भने पर्यटकलाई आकषर्ण गर्न केही कृतिम मुर्ति पनि बनाईएको छ । रिठेडाँडाबाट शङ्खे पहरा पुग्न जोर्ते देराली र दुर्गा भवानी मन्दिर नजिकैबाट पदमार्ग बनेको छ । जुन पदमार्ग व्यवस्थित बनाउन धेरै लगानि र स्थानियको निरन्तर सक्रियता जरुरी छ । कुम्भकर्ण झैं सुत्ने सरकारको कानमा शङ्ख बजाउन स्थानीयले थाक्नु हुँदैन्

। रिठेडाँडामा पर्यटकीय आकर्षण थप्न नजिकै घरबास सञ्चालनको तयारीमा छ । खानेपानी, सरसफाइका योजना सचालित छन् । छिमेकी वडा कुश्मीसेरा,सर्कुवा, अर्जेवा र जैदी सम्मका युवायुवतीहरु घुमघामको लागि आउने गरेका छन् । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ ।

गाजा दह

प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि जैमिनीको गाजा दह एक अनुपम थलो हो । पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । यो सदरमुकामदेखि नजिकै छ । पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्य हेर्दै हिँड्नुको मज्जै बेग्लै हुन्छ। गाजाको दहलाई सिद्ध बरहा रुद्र ताल पनि भनिन्छ जहाँ धार्मिक रूपमा तोरण तार्ने गरिन्छ । यहाँको पानी एकदम चिसो पानीको हुने गर्छ, रुद्र तालमा पौडेर तोरण तार्ने व्यक्तिलाई विशेष महत्वर सम्मान गर्ने गरिन्छ । समुन्द्री सतह देखि दुई हजार चार सय मिटरको उचाईमा गाजाको दह रहेको छ भने २ हजार ८ सय मिटरको उचाईमा गाजाको धुरी रहेको छ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लज जस्ता पूर्वाधार बनाउने उल्लेख छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात गाजा दह जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

हाँडीकोट शिखर
थन्थाप कोट र माई मन्दिरको पहिलो पर्यटकीय विशिष्टता धार्मिक आस्थामा अन्तर्निहित रहेको छ । यस ठाउँको पर्यटकीय क्रियाकलापका बारेमा चर्चा गर्दा हाँडीकोटलाई पनि छुटाउनु हुँदैन । हाँडीकोट र माईमन्दिरको ज्यादा मात्रामा धार्मिक र पर्यटकीय महत्व दृश्यगोचर हुन आउँछ । हाँडीकोटको शिवमन्दिर र माईको मन्दिर दुबै धार्मिक आस्थाका वाङ्मुख हुन् । शिव र माई भगवती सनातन धर्म मान्ने आस्तिक र बुद्ध धर्मानुयायीका लागि बढी आकर्षणका केन्द्र बनेका छन् । जैविक विविधता र हिमाली सौन्दर्यको मोहकता यहाँको मूल रोचक पक्ष हो । जिल्लाको दक्षिण जैमिनी नगरपालिकाको शिर हाँडीकोट टापु । समुन्द्री सतहबाट २१ सय ९५ मिटरको उचाईमा रहेको हाँडीकोट टापुबाट आकर्षक सुर्योदयसँगै चारै तर्फ हिमश्रृंखला, सुन्दर मनोरम प्राकृतिक दृश्य, पाल्पा, बुटवल, गुल्मी लगायतका अनगिन्ती गाउँ शहर र उपत्यका देखिन्छन् । जैमिनी नगरपालिका वडा न.१० राङखानी, वडा न.७ जैदी र वडा न.८ छिस्तीको संगमस्थल हाँडीकोट टापु प्राकृतिक रुपमा निकै सुन्दर छ । टापुबाट देखिने दृश्यले जो कसैको मन लोभ्याउँछ । ऋतु अनुसार त फरक दृश्य देखिन्छ नै, त्यसमा पनि विहान, दिउँसो र साँझमा पनि पृथक मनोरम दृश्यको अवलोकन गर्न सकिने बिशेषता हाँडीकोटले बोकेको छ ।

हाँडीकोटमा वि.स १८३१ भन्दा पहिले भुरे टाकुरे राजा थिए । हाँडीकोट राज्यमा अन्तिम राजा रिपु मल्ल र रानी जयन्ती मल्ल रहेको इतिहास छ । उनीहरु कमजोर बन्दै गए पछि आक्रमण हुने भयले तिर्थ जाने भन्दै धुल्लुका पौडेलहरुलाई रेखदेखको जिम्मा दिएर कोट छोडेको किम्बदन्ती छ । बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा हुँदै राङ्खानी र जैदीको सिमा क्षेत्र बिहारथला सम्मको दुरी ४६ किलोमिटर छ । त्यहाँसम्म गाडीमै सजिलै यात्रा गर्न सकिन्छ । जैदीको बिहार थलादेखि करिब ४५ मिनेटको उकालो पैदल हिँडेपछि हाँडीकोट टापु पुग्न सकिन्छ । यहाँ राङ्खानीको नाम्दुक र डाँडाखानीबाट पनि करिब १ घण्टा सेरोफेरोको पैदल यात्रामा पुग्न सकिन्छ भने छिस्तीको केवैखानीबाट पनि साढे १ घण्टाको पैदल यात्रामा हाँडीकोट पुग्न सकिन्छ । हाँडीकोटको धुरी नजिकै कच्ची सडक पुगे पनि सडक स्तरीय नहुनु र नियमित मर्मत नहुँदा यात्रामा जोखिम हुन प्रमुख चुनैति देखिन्छ ।

माइकोस्थान (थन्थाप भगवती)

थन्थाप क्षेत्रकै प्राचीन र पुरातात्विक महत्व बोकेको धार्मिक आस्थाको धरोहर थन्थाप भगवती अर्थात स्थानीय भाषामा ‘माईको थान’ । पहिले–पहिलो यो मन्दिरलाई ५ थन्थाप, थन्थापी माई भनिन्थ्यो । ‘माईकास्थान’को अपभ्रँस हुँदै यसको नाम ‘माईको थान’ रहन गएको भन्ने भनाई छ । जैमिनी–४, सर्कुवा गाव माथी घना जङ्गलको बिचेको टाकुरोमा रहेको मन्दिरको उत्तरमा एकराते र दक्षिणमा जैदी गाविसको खर्क वा धुल्लु रहेको छ । पूर्वतिर गाँव गाँउ छ भने पश्चिमतर्फ ब्याडथला गाँउ छ । माईको स्थानको उत्तर दिशातिर लस्करै मिलेका सेता दाँत देखाएर हाँसेका अन्नपूर्ण र धौलागिरी हिमशृङ्खलाको दृश्य जति हेरे पनि आँखाहरु अघाउँदैनन् । अर्जेवाको पुछारबाट बगेको कृण्णगण्डकीको फन्को, पर्वतको फलेबासको सुतेको फाँट, छिस्तीको भिरालो बस्ती, नाम्दुकको भञ्ज्याङ, राङ्खानीको मगर वस्ती, दमेकका टाकुराहरू, रायडाँडाको खोँच, कुस्मिसेराको वैभवले यात्रीहरूको मनलाई मन्त्रमुग्ध पार्दछ । शिशिर याममा हाँडीकोटमा पर्ने हिउँको स्पर्शले यस सुन्दर भूमिको मोहकतालाई अझै जीवन्त बनाउने काम गर्दछ । हाँडीकोटबाट त गुल्मी, पाल्पा, पर्वत र कास्कीसम्मका भूभागहरू सहजै देख्न सकिन्छ । यसरी दूरबिनाको पनि दूरबिन बनेको यहाँको रमणीय वातावरणले पर्यटकहरूको थकानलाई आफ्नै सौन्दर्यमा समाहित गरिदिन्छ lआरम्भमाा माईलाई सिमे, भूमे, झाँक्री, बराह र कुल जस्तै वायु देउताका रूपमा पूजा गर्ने चलन थियो किनभने झाँक्रीको स्थान, बराहको स्थान र कुलदेवताको स्थान जस्तै माईको स्थान भन्ने आञ्चलिक परम्परा अद्यापि प्रचलित छ । त्यसैले यी माई पनि सुरुमा यस्तै मष्टो परम्पराबाट विकसित भएकी देवी हुन् । माईपूजा सामाजिक/सामूहिक आस्थाबाट विकसित भई धार्मिक विश्वासमा रूपान्तरित भएको धार्मिक विश्वासको प्रतीक मानिन्छ । हरेक दिन पूजाआजा हुने यस मन्दिरमा चैत्राष्टमी र विजयादशमीमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । पुलि लिने, न्वागी खाने, बडा दशैँमा टीकाको साइत निर्धारण गर्ने काम पनि कोटले गर्दै आएको छ । माईको पूजा गर्दा पञ्चेबाजा बजाउने चलन पुरानै हो । मन्दिरमा हाल यो चलन विशेष अवसरमा मात्र सीमित छ । मन्दिरभित्र प्रवेश गर्दा फुल चढाउने र बाहिर निस्कँदा धजा बाँध्ने चलन छ । जेठ र कार्तिक महिनाको पहिलो मंगलबार रीतिपूर्वक बलीपूजा गरिन्छ । माइको मन्दिरमा थाल, छत्र, घण्ट चढाइन्छ र पशुहरूको बली दिइन्छ । यसरी माईको पूजा गर्दा सर्वसुख हुने विश्वास छ । मन्दिरमा प्राप्त भएको ताम्रपत्रअनुसार अर्जेवाका सकसबहादुर नायकले वि.स. १८६५ मा अर्जेवाको थाम्काबाट स्थानान्तरण गरी मन्दिरको संरचना समेत निर्माण गरेका हुन् । सत्तलशैलीमा बनाइएको मन्दिरको पुनर्निमाण वि.स. १९८९ र वि.स. २०५८ सालमा भएको हो ।

माइका थान

पुरातत्विक विभागमा सूचिकृत समेत भएको माइकोस्थान मन्दिरले वार्षिकरुपमा नेपाल सरकार गुठी संस्थानलाई नियमित राजश्व बुझाएता पनि पुजारीलाई अहिले सम्म कुनै निकायले सेवा–सुविधा दिएको छैन । मन्दिरको गुठी जैदी जोमिरे अस्ताउदी, अर्जाङ्दी र बिनामारे काब्रेमा थियो । अहिले जैदी जिमिरे अस्ताउदी, अर्जाङ्दीे जग्गा व्यक्तिको नाममा भैसकेको छ भने बिनामारे काब्रेमा ४ रोपनी ६ आना जग्गा मात्र मन्दिरको नाममा रहेको छ । २०४९ सालदेखि निरन्तररुपमा हरेक दिन पुजारी उमानद पाध्याले पुजाआज गर्दै आएको माइस्थान व्यवस्थापन समितिका सचिव प्रेम थापाले बताए । २०७६ देखि तत्कालिन मुखिया हरिदत्त पाध्याका नाति केदार पौड्यालले व्यतिmगतरुपमा मासिक दस हजार रुपौया दिने गरेको मन्दिरका पुजारी पाध्याले बताए । उनले आफ्नो सेवा सुबिधाको लागि वडा हुँदैै नगरमा पटक–पटक हारगुहार गरे पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

माइका थान जाने बाटो ?
बागलुङ सदरमुकामबाट ३७ कि.मि.पश्चिममा पर्ने मन्दिर क्षेत्र पुग्न सदरमुकामबाट ४ घण्टा जति कच्ची बाटो मोटरमा चढेर पार गर्न सकिन्छ । मन्दिरसम्म पुग्ने सजिलो पैदल बाटो कुस्मिसेरातर्फबाट उकालिएको छ । कुस्मिसेराबाट करिब १५ कि.मि उकालो बाटो तीन घण्टा पैदल हिँडेपछि मन्दिरसम्म पुग्न सकिन्छ । मोटरको उपयोग गरी कुस्मिसेराबाट एक घण्टामै मन्दिर जाने सुविधा पनि छ । वर्षायाममा बाटो बिग्रिने हुँदा यातायात सोचेजस्तो सहज नहुन पनि सक्छ । बरु चौतर्फी रमणीय वातावरण हेर्दै पैदल हिँडनु स्वस्थकर र लाभदायक हुनसक्छ । कुस्मिसेराबाट ठेउले खोलाको पुल तरेर मौलाछको बाटो हुँदै बुर्मको डाँडोमा पुगिन्छ । त्यहाँबाट सलक्क परेका सेता हिमाल, कुस्मिसेरा, फलेबास, दमेक र बिनामारेका हरिया खेतका फाँट र पाटापाटा परेका भिराला जमिनका पत्रहरूको मनमोहक दृश्य देखिन्छ । त्यहाँबाट उकालो लागेपछि रातामाटा, गाँव हुँदै माईको मन्दिरसम्म पुगिन्छ ।


र अन्तिममा…
धार्मिक र पर्यटकीय आस्थाको धरोहर थन्थाप भगवतीको मन्दिर प्रदेश सरकाले पनि पर्यटकीय गन्तव्यमा राख्नुबाहेक उल्लेख्य काम केही गरेको छैन । धार्मिक र पर्यटकीय सम्भावना नबुझेर वा ज्ञानको अभावमा जैमिनि नगरपालिकाले सुनको कचौरामा भिख मागिरहेको छ । नगरपालिकाले आफ्नो सुस्त गति चलायमान गराउनुपर्छ । विभाग र नगरपालिकाको केही सहयोग रहे पनि हालसम्म पनि मन्दिरको गुरुयोजना नबन्नु, भौतिक विकासका गतिविधि शून्यप्राय देखिनु, पुरातत्व विभाग एवं गुठी संस्थान यहाँको विकास र प्रचार प्रसार नगरी आँखा चिम्लेर बस्नु यहाँका कमजोरी हुन् । धार्मिक र पर्यटकीय आस्थाको धरोहर थन्थाप भगवती मन्दिरकोे विकास र प्रचार प्रसार गर्न योजना तर्जुमा गर्नु पहिलो आवस्यकता देखिन्छ । चोरी सिकारीले जनावरहरू लोप हुन सक्छन् । रुखबिरुवाको फडानीलाई रोकी पर्यटन प्रबर्धनका लागि सेताराता गुराँसका बिरुवा रोप्न आवश्यक छ । मन्दिरका पुजारीलाई मासिक पारिश्रमिक दिने, ब्याडथलामा वनभोजको रमाइलो गर्ने ठाउँको रुपमा विकास गर्ने, स्लेट ढुङ्गा, तामा र निलो तुथो जस्ता खानीको उत्खनन् गर्ने, स्लेटकै प्रयोग गरी हाँडीकोट र मन्दिरको परिक्रमापथ निर्माण, मगर संस्कृति झल्किने घरहरू, होटलहरू र घरबासहरू निर्माण जस्ता बृहत् योजना पनि निर्माण गरि हरेक वर्षे ठेक्का बापत प्राप्त हुने रकम मालपोत कार्यालयले आफूखुसी खर्च नगरी मन्दिरको भौतिक विकासमा खर्च गर्नुपर्छ । मन्दिरको आम्दानीलाई व्यवस्थित गर्नुपर्छ । थन्थाप क्षेत्रकी रक्षक माई भगवतीको धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व प्रचूर मात्रामा रहेकाले यसको पहल सर्कुवा वडा कार्यलय, व्यवस्थापन समिती र समग्र नगरपालिकाको लिएर बृहत् योजना निर्माण गरि अघि बढ्न जरुरी छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार ००:००