१४ चैत्र २०८०, बुधबार । March 27, 2024

साहित्य

बर्मा गयो कर्मैसँग, नेपाल गयो कपालसँग (पोडकाष्ट)



         

                                                   

फलेर हिउँदभरी खाउँला भन्ने कत्रो आसाले दुःखजिलो गरी छरपख गरेको कमाइ आज लुगा धुँदा झुक्किएर गोजीमै निचोरिएको कागज जस्तै भएको देखेपछि म बिरक्तिएँ । अभावको बोझले रक्तहीन देखिने अनुहार, जिङ्ग्रिङ्ग परेको शरीर, कढा परिश्रमको कारण पट्टपट्ट फुटेका पैताला लिएर कति बाँच्नु हाउ..! जेसुकै होस् बरु छोड्दिन्छु यो ठाउँलाई भनेर सोचेको मैले त्यसपछि नै हो ।
एकोहोरे गोडिसकेको मकै, फल्न लागेको सिमी, आलु, काँक्रा, फर्सी सबै उजाडियो । हुनपनि हिजो दिउँसैदेखि आकाश अँध्यारिन थालेको थियो । पानी परिहाल्यो भने त बिजोक हुन्छ कि, भन्ठानेर हतारहतार याख्रका भस्मेदेखि पाँचसात भारी दाउराको कचेट ओसारेँ । साँझ पर्ने बेलामा हुरी चल्यो । निमेशभरमै गाउँलेका घरगोठहरु तहसनहस भएर छानोजति सबै छरिएका तासजस्तो देखिन्थे । हुरी चल्न रोकिएको मात्र के थियो फेरि चट्टयाङ् प¥यो । त्यसपछि झण्डै बिहानसम्मै असिनापानी बर्षियो ।


गाउँका केही मान्छेहरुसँग बसाइ हिड्नेबारे सरसल्लाह गर्ने ईच्छा हुँदाहुँदै पनि सम्भव भएन । अब जे पर्लापर्ला भन्दै म गाउँ छोडी सदरमुकामतिर हाम फालेँ । आफ्नो वर्तमान र सूदूर भविष्यलाई सम्झँदै ।
नयाँ ठाउँमा आइसकेपछि केही न केही गर्न वाध्य भएँ म । होस गुमेको कुनै पागल भैmँ अत्तोपत्तोबिना कहिलेकाहीँ ज्याला मजदुरी गर्न आउँदा चिनेको साहुुको घरमा सिधै पुगेछु ।
साहुजी म यहाँ काम गर्न आएको हो । काम पाए यतै बस्ने सोचमा छु, मैले भने ।
के काम गर्छस् त केटा ? साहुजी ले सोधे ।
तपाईसँग जे काम छ, त्यै गर्छु । मैले स्पष्टीकरण दिएँ ।
साहुले मलाई काम दिए । म काममा लागेँ तर गाउँबाट बोकेर आ,को दुःखको बोझ हटेन । बिरानो ठाउँमा अभावको पहाडले झनझन थिच्दै लग्यो । पाएको तलबले मात्रै मेरो पारिवारिक आवश्यकता धान्ने छाँटकाँट थिएन । मैले त्यसको अलवा केही न केही गर्नै पर्ने भयो ।
सदरमुकाममा राजा विरेन्द्र जन्मेको दिन पौष १४ गते युवामेला लाग्छ । उहिल्यै गाउँको एकजना बाजेले साहु काढ्थे, र मलाई बराबरीको भागीमा राख्थे । सुँगुर, राङ्गा मोलेर त्यै मेलामा समेत एकदुई पटक गोस गरेका थियौँ । त्यतिबेला बाजेले मलाई नै सबै हरहिसाब हेर्ने जिम्मा दिन्थे । अहिले सम्झँदा लाग्छ, १६÷१७ वर्षको ठिटोलाई कसरी हजारौंहजारको कारोबार जिम्मा दिन सकेको होला ? पैसा बोकेर कतै सुलुत्तै भागेको भए कसरी असुल उपर गर्थे होलान् ती बाजेले ? त्यसो त म पनि एकपैसा तलमाथि नगरी हिसाबकिताब राख्थेँ । सावाँ र ब्याज छुट्याएर बाजेलाई जिम्मा दिन्थँे । आएको नाफा बराबरी बाँड्थँे ।
मैले जानेको त्यै व्यबसाय यसपटक मेलामा पनि चलाउँने सोचेँ । त्यसको लागि रकम चाहिन्थ्यो । धेरैलाई सापटी मागेँ । कहीँ नपाएपछि अन्तमा सामान्य चिनजानसम्म भएको एकजनाको घरमा ऋण काढ्न पुगेँ ।

हजुर ! मेलामा राङ्गा किनेर गोस गरौं भनेको पैसा पाइएन । छ हजार रुपैँया जति ऋण दिनुप¥यो । बाध्यताले इज्जत छाडेर मुख खोलेँ मैले ।
भनिहालिस् नानी ! अर्काको पैसा राखेको छु । कहिले तिर्ने हो त ? साहुले सोधे ।
१६ गते त जसरी पनि तिर्छु नि ! ठूलो सफल्ता मिलेको महसुस गर्दै मैले भनेँ ।
छ हजारसम्म ऋण माग्ने हिम्मत कसरी आयो होला मलाई । त्यो बेलाको छ हजार चानचुने पैसा थिएन । काम गरेको साहुबाट पाउँने मेरो रोज महिनाको ८ सय मात्र थियो ।
साहुले केही नभनि थपक्क पैसा झिकेर दिए ।
ऋणै भएपनि पैसा भएपछि हिम्मत आउँछ भनेझैं पैसा पाएपछि दूध बोकेकी युवतीले कल्पना गरेको इसपको कथा जस्तै मनका थुप्रै लड्डुहरु खाँदै आएँ । पहिले भिजेको मुसाजस्तो म, पैसा पाएपछि एक्कासी अघाएको बाघ जस्तो भएँ । नाथे यति पैसा त यसरी तिर्छु उसो गरेर तिर्छु पो भन्न थाल्यो मनले ।
पैसा लिएर राङगा किन्न भोलिपल्ट नै साथीसँग लागेँ । राङ्गा हेरियो । एउटा २२ सयमा र अर्को १८ सयमा दुईवटा खरिद गरेँ । खर्चकट्टी गरेर पनि २५ सय भन्दा कम् नाफा आउँदैन भन्थे अरुले ।
राङ्गाहरु लिएर सदरमुकाम झरियो । साथीसँग म पुग्दा अरुतिरका गोसवलाहरु सबैले आ–आफ्नो व्यवस्थापन गरिसकेका रहेछन् ।
साथीसँग दुईजना छदैँ थियौँ । अरु दुईजनासँग मासु जोख्ने तराजु ढक, काट्नलाई केही हतियार, रक्ती थाप्ने भाँडा र मासु पिंmजाउँने स्याउँला बोकेर १४ गते बिहान हाम्रो टोली ४ बजे नै बजार पुग्यो । राङगा काटियो । बेलुकीसम्ममा सबै मासु बिक्रि पनि भयो । हिसाव गर्दा ४५ सय साटेछ ।
खानापछि चारैजना राङ्गाको छेउमा बस्दै र आलोपालो गरी बजार घुम्ने हुन्थ्यो । रातको ३ बजेसम्म त्यसरी नै बसेका थियौँ । गोसको लागि आवश्यक सामानहरु लिन आफ्नो कोठातिर जानै पथ्र्यो । एकजना राङगासँगै रहेर अरु गएको भए नि हुन्थ्यो । तर हामी चारैजना गयौं ।
अघिल्लो दिनजस्तै मालसामान लिएर ४ बजे पुग्दा त राङगा छैन । मलाई जादु जस्तै लाग्यो । एकघण्टा अगाडि रहेको राङगा काट्न जाँदा त छैन ! पत्याउँन गा¥हो भो मलाई । कसैले जिस्क्याएको पो हो कि जस्तो मात्र लाग्यो एकछिन त । फुस्केर कतै गएको छ कि भनेर यताउति हेरेँ, राङगा त साँच्चै पो रहेनछ । कता गयो, कता ! यो २०५२ साल पौष १५ गतेको घटना थियो । साँच्चि नै राङगा नभएको प्रमाणित भएपछि मात्र म आत्तिएँ । हरे ! संयोग मलाई यो के विपत्ति आइलाग्यो नि ! अब साहुको पैसा कसरी तिर्ने होला भनेर अरुको सामु ग्वाँ ग्वाँ रुन मन लाग्यो । मनमनै त कति रोएँ, रोएँ ?


अत्तालिँदै खोज्यो, कहाँ भेट्नु ? त्यो बेला मेरो लागि आतेशको दुन्दुभी बजेको थियो । हिजो नबिकेका मासुका पसलहरु असरल्ल थिए । तिनै मासु पसलहरुलाई नियालेँ । काटकुट गरेर त्यहीँ मिसाए होलान् जस्तै लाग्यो, तर कसरी चिन्ने ? मासुको रङ्ग उस्तै, हड्डी खुट्टी उस्तै, छाला उस्तै ।
खोज्दाखोज्दै उज्यालो भयो । कतै कसैले हिडाएर लग्यो भने त पाइलाका डोबहरु भेटिन्छ कि भन्ने आशाले सबैतिर खोजेँ । तर भेटिएन । अन्ततः जिउँदै राङगा हरायो । तराइतिर त वस्तुभाउ हराउँछन् भन्ने कुरा सुनेको थिएँ । तर आज मेरै जिउँदो राङगा हरायो । साहुको ऋणबाट व्यापारको लागि ल्याएको राङ्गा कुन अपराधीले जिउँदै निल्यो ? मलाई रुवाएर निल्यो । ऋण बोकाएर निल्यो ।
प्रहरी कार्यालयमा निवेदन चढाउँन गएँ । आपदविपदमा सहयोग गर्ला कि, छेउछाउका मासु पसलेहरुलाई सोधपुछ गरेर पत्ता लगाइदेला कि, भनेको त हामीले कहाँबाट खोजिदिने ? भनेर उल्टै प्रहरीले हप्काएर पठायो । म झन आश्चर्यमा परेँ ।
मैले मासु बेच्दै गर्दा एकजना बारमासे गोसवला उसको मासु नबिकेको कारण दिउँसैदेखि रिसाइरहेका थिए मसँग । मेरो राङ्गा खासमा उसैले नै काटेर आफ्नै मासु पसलमा मिसाएको थियो, तर के गर्नु ? कुनै आधार प्रमाण थिएन दावी गर्नलाई ।
अब कुनै उपाय नलागेपछि भएको पैसा बुझाउँनु र सत्य घटनालाई बताउँदै बाँकी पैसाको लागि भाका माग्नुको विकल्प थिएन मसँग ? राङ्गा खोज्दाखोज्दै १५ गते बित्यो । शर्त अनुसार तोकिएकै दिन कुनै फौजदारी मुद्धाको प्रमाणित अभियुक्त अदालतको कठघरामा बयान दिन उभिएझैं निरासिएको अनुहार लिएर साहुको घर पुगेँ ।
सत्य कुरा ओकल्दै मैले भनेँ, अब के गर्ने होला बर्वाद भयो साहुजी ! तपाईंलाई साँवा ब्याज बुझाएर पनि एकदुई पैसा नाफा हुन्थ्यो कुन पापीले खायो, खायो ? हिजो दिउँसोभर खोज्दा पनि भेटिएन ।
सबै विवरण सुनेपछि साहु लामो समय चुक्चुकिए । पैसा डुब्ने र व्याज नपाइने भो भनेर होइन, मेरो हविगतमाथि दया लागेर चुक्चुकिएका थिए साहु ।
साथमा कति छ पैसा ? साहुले सोधे ।
चारहजार पाँचसय छ ! निन्याउरो अनुहार पार्दै मैले जवाफ दिएँ ।
त्यो बुझाइराख, अरु छिटो बुझाउँनू । अरुको पैसा काढेर दिएको थिएँ दशा लागि हालेछ । साहुको कुरामा सहमति जनाउँदै साथमा भएको पैसा बुझाएँ मैले ।
ब्याजको त के कुरा, चान्केचुन्के गर्दै बल्लबल्ल सावाँ त चुक्ता गरेँ । तर त्यो दिन सम्झनाबाट कहिल्यै गएन । मनको तरङ्गबाट कहिल्यै हटेन । साँच्चै भन्ने हो भने, त्यो राङगा हराउँनु मेरो लागि उतानो परेको वनसाङ्ला जस्तै भएको हो, जो अपवाद वाहेक बाँच्नु मुश्किल हुन्छ ।
जीवन जेनेतेने चलिरहेकै छ । बसाइ हिडेर पनि दुःखका घनहरु बज्रिरहन्छ मेरो टाउँकोमा । जता गएपनि उस्तै दुःख, उस्तै समस्या । “बर्मा गयो कर्मैसँग, नेपाल गयो कपालसँग ।” त्यसै भनेका होइन रहेछन् हाम्रा पुर्खाहरुले भन्ने सोच्दै बाँच्न लाचार छु ।
०००

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००