७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

समाचार

‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ राशीको पुरस्कार



नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा( द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटो लाई प्रदान गरिने भएको छ ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर कोटेश्वरको केटोले उक्त पुरस्कार प्राप्त गरेको हो ।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चस्मा २०७३, अघोरी २०७५ गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन् ।

राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटो आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् । कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ ।

 जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् कोटेश्वर बाट । अन्य तीन भागमा अनुहारहरु, ‘अनुभूति सुफियाना अक्षरहरुसँग रहेका छन् ।

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००