२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Uncategorized

पर्वतमा विकासको लहर : एकै दिन दुई पुल उद्घाटन (फोटो फिचरसहित)



पर्वत २५, माघ । जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एकसाथ उद्घाटन भएको छ ।

मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरे।

रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको हो। पुलको लम्बाई ७० मिटर रहेको छ ।

दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ । यो पुल निर्माण भएपछि वर्षौंदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६, ७ र ८ का बासिन्दा हर्षित भएका छन्।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने छ ।
पुलले मोदी गाउ चित्रे – आर्थर–कार्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्लासमेत पुग्न सकिन्छ ।

धार्मिक तथा पर्यटकीय सडकको रूपमा विकास भइरहेको पोखरा–पामे–पञ्चासे सडकलाईसमेत यस पुलले जोड्ने छ ।

यसैगरी, अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।

अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रूपैयाँ लागतमा निर्माण भएको हो ।

अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टिभिटीको रूपमा काम गर्ने स्थानीयले बताएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको पार्टी नै आधिकारिक नेकपाः मन्त्री नेम्वाङ्ग


मन्त्री नेम्वाङ्गले केपी ओली नेतृत्वको सरकार गठनकै बेलादेखि काममा आफ्नै पार्टीका नेताहरूबाट सरकार सञ्चालनका व्यवधान सिर्जना भएको बताएका छन्।

पुल उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीलाई चक्रव्यूहमा फसाउने षड्यन्त्र भएपनि सफल नभएको बताए।

“महाभारतमा अभिमन्यूलाई फसाएजस्तै प्रधानमन्त्रीलाई फसाउन खोजिए पनि उहाँ त्यो चक्रव्यूह तोडेर बाहिर निस्किन सफल हुनु भयो”, मन्त्री नेम्बाङले भने।

उनले वर्तमान सरकार जनताको सामाजिकसँगै ठूला–ठूला विकासको पूर्वाधारमा लागेको बताए।
सत्तरी वर्षको कम्युनिस्ट आन्दोलनमा इतिहासकै ठूलो पार्टी निर्माण भई करिब दुई तिहाई बहुमतकासाथ सरकार गठन भएता पनि नेताहरूबाट धोका भएको भन्दै गुनासो गरे।

उनले प्रधानमन्त्री ओली नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारीक अध्यक्ष रहेको र उनले नेतृत्व गरेको नेकपा नै संस्थाापन भएकाले कोही भ्रममा नपर्नसमेत आग्रह गरे।

उनले आधिकारीक अध्यक्ष जो हो, सूर्य चुनाव चिन्ह उनैसँग रहने बताए।

विकास निर्माणका कामको गति बढाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधार विकास निर्माणको काममा देशले थप गति दिनुपर्ने बताएका छन्।

पुल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले अगाडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा वृद्धि गर्नुपर्ने बताए।

उनले राजनीतिक परिवर्तनसँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सपन्न नहुँदा योजनाहरू अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गर।

उनले आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथा प्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोरलगायत सडक तथा पक्की पुल थुप्रै योजना अगाडि बढेको जानकारी गराए।

“पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ”, उनले भने, “अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौैंं, ‘पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रूपमा काम सुरु हुँदै छ र ग्रामिण सडक सुधार आयोजनाअन्तर्गत १०० किलोमिटर सडक पर्वतमा निर्माण हुँदैछ ।”

अध्यक्ष तिमिल्सिनाले पर्वतमा आवश्यक विकास निर्माणको काममा जनताको प्रतिनिधिका रूपमा आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००