११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

यस्तो बन्दै छ सङ्घीय संसद् भवन



विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ । सिंहदरवार परिसर पुतली बगँैचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो ।

विसं २०५५ बाट असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामोसमयसम्म भवनको काम शुरु हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि दुई वर्षभित्रमा संसद् भवन बनाउने निर्णय गरेसँगै अहिलेको भवनको निर्माण शुरु गरिएको हो । कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ । भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन् । विसं २०६४ देखि संसद् भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ । त्यसभन्दा अगाडि सिंहदरबारको संसद् भवन भूकम्पका कारण भत्किएको छ ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तीन वर्षभित्रमा भवन बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त भवन मुलुकको सवैभन्दा ठूलो भवनको रुपमा रहने छ । शहरी विकास र भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसद् सम्बन्धी सबै कार्य एकै थलोबाट गर्ने किसिमको भवन रहने बताउनुभयो । भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाइ र पार्किङ भवन रहने छन् । प्रतिनिधिमा चार सय र राष्ट्रियसभामा सय जना प्रतिनिधिसभाको क्षमता चार सय व्यक्ति अटाउने ठूलो सभाहल र राष्ट्रियसभाको सय जना अटाउने ठूला सभाहल हुने छ । प्रतिनिधिसभा भवनमा समामुख कक्ष, पत्रकारसम्मेलन कक्ष र अतिविशिष्ट कक्ष, तीन सयजना दर्शक÷पत्रकार÷आगन्तुक पाहुना अटाउने बालकोनी हल र दुई सय क्षमताको मार्सल कोठासमेत रहने छ ।

यसैगरी राष्ट्रियसभाको भवनमा स्टुडियो कोठा, कन्ट्रोल कोठा, भिडियो र रेकर्ड कोठा रहने छ । भने अध्यक्षको कार्यकक्ष, विशिष्ट कक्ष र समिति हल, दुई सय जना अटाउने बालकोनी हल र तीन सयजना क्षमताको बैठक कक्ष तथा मर्मतकक्ष र मार्सल कोठा रहने छ । कूल १७३ रोपनी आठ आनामा क्षेत्रफलमा निर्माण हुन लागेको भवनको निर्माणको जिम्मेवारी टुण्डी से जेभी कम्पनीले पाएको छ । महानिर्देशक गेलालका अनुसार भवन परिसरमा भवन क्षेत्र २७ प्रतिशत, खुला हरियाली ४५ प्रतिशत र पार्किङ क्षेत्र २८ प्रतिशत छुट््याइएको छ । भवन परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदको प्रवेशका लागि उत्तर–पश्चिम ढोका, दक्षिणपूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशको व्यवस्था मिलाइने छ । प्रवेशका लागि अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने छ । काठमाडौँको स्थानीय वास्तुकला झल्कने खालको बन्ने भवन इन्टरनेशनल स्टे अफ द आर्टको रुपमा डिजाइन गरिएको छ । भवनका डिजाइन आपतकालीन विशेष अवस्थाजस्तै भूकम्प, आगलागीलाई मध्यनगर गरी नेपालको भवन निर्माण सम्बन्धी मापदण्डअनुसार डिजाइन गरिएको छ । भवनमा हरियाली चौर, पानीका फोहरा, सार्वजनिक खुल्ला चौर जस्ता रहने छन् । दक्षिणतर्फका मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को प्रतिनिधिसभा र दायाँतर्फ राष्ट्रियसभा हुने छ ।

संसदीय दल र समिति पाँच तला संसदीय दल र संसदीय समितिका भवन पाँच तले र अन्य भवन भने तीन तले हुने विभागका महानिर्देशक गेलालले जानकारी दिनुभयो । यसैगरी मुख्य संसद् भवनको दायाँतिर तीन तल्लाको दुई वटा ब्लकमा संसदीय सचिवालय भवन रहने छ । प्रतिनिधिसभा भवनको उत्तरतिर चार तलाको पुस्तकालय भवन र दुई तलाको चमेना गृह हुने छन् । चमेना गृहको भूइँ तला सर्वसाधारण र माथिल्लो तला सांसदको लागि छुट्याइने छ । यसैगरी राष्ट्रियसभाको भवनको उत्तरतिर चार तलाको अतिविशिष्ट कक्ष निर्माण गरिने विभागले जनाएको छ । संसदीय दलको कार्यालय र संसदीय समितिको भवन पाँच तलाको रहने छ । मुख्य संसद् भवनको दायाँतिर उत्तरपूर्वमा पाँच तलाको संसदीय समितिको भवन र उक्त भवनको दायाँतर्फ छापाखाना रहने विभागका महानिर्देशक गेलालले जानकारी दिनुभयो । मुख्य भवनको बायाँतर्फ उत्तरकुनामा पाँच तलाको संसदीय दलको कार्यालयको भवन रहने छ । भवन परिसरमा सात सय गाडी पार्किङ गर्ने सकिने छ ।  (रासस)

प्रकाशित : १ आश्विन २०७६, बुधबार ००:००