८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

बिहीबारदेखि मौसममा सुधार हुने



काठमाडौँ, १ असोज  । भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।” उहाँले भन्नुभयो । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उहाँको सुझाव थियोे । सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ । बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार ००:००