११ बैशाख २०८१, मंगलबार । April 23, 2024

पर्यटन

भ्रमण वर्षलक्षित सहकारीको अभियान



नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ ।

भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका अध्यक्ष अनिश तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सहकारीमार्फत नगरकोटमा स्वदेशी, विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापनमा लागेका छौँ ।” उहाँले घरवासको सङ्ख्या बढाउँदै लगिने तथा अन्य पर्यटन प्रवद्र्धनका योजना बनाइएको जानकारी दिनुभयो ।

सहकारीले भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकका लागि नगरकोटमा गाइड नभएकाले स्थानीय सक्षम युवा छनोट गरी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ । पर्यटकीय नगरकोट क्षेत्र काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–२ र भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा पर्दछ ।

सहकारीले नगरकोटस्थित महादेव पोखरी, टावर तथा सडक क्षेत्र समय–समयमा सरसफाइ गर्दै आएको छ भने आली जमीनमा विषेश जातका बिरुवा तथा फूल रोप्दै आएको छ । भ्रमण वर्षभरि विविध सांस्कृतिक कार्यक्रम गर्न स्थानीय पर्यटन विकास समिति र अन्य संस्थासँग सहकार्य गरी तामाङ तथा गुरुङ संस्कृतिलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याउने प्रक्रिया अघि बढाइएको सहकारी अध्यक्ष तामाङले बताउनुभयो ।

सहकारीले भ्रमणलक्षित कार्यक्रम गर्नु उत्साहजनक कार्य भएको जिल्ला सहकारी सङ्घका सचिव दिलीप शर्माले बताउनुभयो । उहाँले जिल्लामा रहेका करीब एक हजार ४०० सहकारीमध्ये चार मात्रै पर्यटन सहकारी रहेको जानकारी दिँदै अन्य पर्यटन सहकारीलाई पनि भ्रमणलक्षित कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

यसअघि जिल्लामा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएका बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार ००:००