९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

अर्थ

सात हजार सवारी चालकलाई कारवाही



ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो ।

सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने चार हजार नौलाई कारवाही गरिएको थियो । उक्त कारवाहीबाट रु २३ लाख ६८ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी आव २०७५÷७६ मा दुई हजार ५२८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । उक्त कारवाहीबाट रु १८ लाख ४१ हजार जरिवाना उठाइएको जनाइएको छ । त्यस्तै चालू आवको २०७६÷७७ का दुई महीनाको अवधिमा प्रहरीले १४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारवाही गरेको जनाइएको छ । उक्त कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भइसकेको ट्राफिकले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लो समय डरलाग्दो गतिमा सवारी दुर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्व भएकाले मात्रै चलाऊन् भन्ने हेतुले सवारी चालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिनुभयो । उहाँले गत वर्षसम्म प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसम्म जरिवाना गरिएको भए पनि चालू आवदेखि सवारी चालक अनुमतिपत्र नहुनेलाई रु एक हजार जरिवानाको व्यवस्था गरिएको बताउनुभयो ।

पछिल्लो समय सवारी चालक अनुमतिपत्र नभएका तथा उमेर नै नपुगेका युवाले अत्यधिक तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । जसले गर्दा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ । गत वर्ष मात्रै जिल्लामा ५३ को दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ । त्यसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सोह्रदेखि २५ वर्ष समूहका युवाले अत्यधिक मात्रामा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । उहाँले गत वर्ष दूर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा धेरै ६९ मोटरसाइकल रहेका छन् । त्यसमा अधिकांश १६ देखि २५ वर्षका सवारी चालक अनुमतिपत्र नभएका युवा रहेका उहाँको भनाइ छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार ००:००