७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

समाचार

उपाध्यक्षमा कुरा नमिल्दा डेढ महिनादेखि सिरिजंगा धार्मिक वन नेतृत्व विहिन



मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित सिरिजंगा स्मृती धार्मिक वनको उपाध्यक्षमा सहमति नहुदा डेढ महिनादेखि नेतृत्व विहिन हुन पुगेको छ । वनको माघ २१ गते तेस्रो साधारण सभाको खुल्ला सभा भएको थियो । बन्दसत्रमा सबै प्रतिवेदनहरु पारित भइसकेपछि निर्वाचनको प्रकृया अघि बढाइएको थियो । निर्वाचन प्रकृया खुलेपछि मनोनयन दर्ता गर्ने क्रममा दुई जना उपाध्यक्षको लागि ६ जनाको उमेद्वारी परेको थियो । उपाध्यक्षमा गोविन्द वनेम लिम्बू, टंक सङ्वाहाम्फे, शन्तोष लिम्बू, रमेश लावती, टेकिन्द्र लिम्बू, धनप्रसाद लिम्बूको मनोनयन परेको छ । दुई जना उपाध्यक्षको लागि सहमतिको प्रयास असफल र निर्वाचन पनि हुन नदिएपछि धार्मिक वन नेतृत्व विहिन भएको हो । निर्वाचन समितिले माघ २५ गते निर्वाचनको मिति तोकेको थियो । उपभोक्ताहरु उपध्यक्षको लागि मात्र र सम्पूर्ण पदमा निर्वाचन हुनुपर्ने दुई पक्षमा विभाजन भएपछि सो दिन निर्वाचन हुन सकेन । वन समितिको अध्यक्षमा गंगाप्रसाद साँवा, सचिव प्रेमकुमार वनेम, सह—सचिव केशव कुरुङ्वाङ, देउमान लिम्बू, कोषाध्यक्षमा खिनामाया लिम्बूको मात्र मनोनायन भएको निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले बताए । सदस्यहरुमा रोशन थक्लुङ, काजी साँम्बा, प्रेम पोमु, सुमन वनेम, पर्शुराम चोङ्वाङ, प्रेम पयाङ्ङ्ग, विजय सवेन्हाङ, दुर्गा लिम्बू, सुकमाया सवेन्हाङ, दिलकुमारी लिम्बू र कोपिला लिम्बूको मनोनयन भएको संयोजक साम्बाले बताए । उपाध्यक्ष बाहेकको पदहरुमा सहमति भइसकेको बुझिएको छ । सफत भने खुवाउन बाँकी रहेको संयोजक साम्बाले बताए । उपाध्यक्षको लागि चार पटकसम्म छलफलमा बस्दा पनि मिल्न नसकेपछि धार्मिक वन नेतृत्व विहिन भएको हो । उपाध्यक्षमा कुरा नमिलेपछि सम्पूर्ण पदमा पुनः निर्वाचन प्रकृया अघि बढ्नु पर्ने उपभोक्ताको माग रहेको उपाध्यक्षको उमेद्वार शन्तोष सेरेङ लिम्बूले बताए । अध्यक्ष पदको एकल उमेद्वार गंगाप्रसाद साम्बा भने निर्विरोध निर्वाचित पदहरुलाई सफत खुवाएर जानुपर्ने विचार राख्दै आएका छन् । २०७२ सालमा दर्ता भएको धार्मिक वनको करिव २४ विगाहा क्षेत्रफल रहेको छ भने १६६ घर उपभोक्ता रहेको छ । निर्वाचन समितिमा सागर साम्बा, दिनेश राई र सकुन्तला राई गरी तीन सदस्यीय रहेको छ । धार्मिक वन भित्र लिम्बू समुदायको धार्मिक सांस्कृतिक क्रियाकलापको साथै पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि प्रयास भइरहेको छ ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००