१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

ग्लोबल

मेक्सीको सीमामापर्खाल लगाउन राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार ९भिटो० प्रयोग गर्ने



वासिङ्टन । राससरएपी अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार ९भिटो० प्रयोग गरेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलो पटक भिटो प्रयोग गर्नुभएको हो । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्नका लागि मेक्सिको सीमामा पर्खाल निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि आवश्यक बजेट अमेरिकी संसदबाट अझै अनुमोदन गराउन सकेको छैन ।

अमेरिकी राष्ट्रपतिको अर्को चुनाव आउन अब १८ महिना मात्र बाँकी छ, तर प्रमुख चुनावी मुद्दामै बजेट प्राप्त नहुँदा राष्ट्रपति ट्रम्पमाथि अर्को कार्यकालका लागि उम्मेदवार हुने वा नहुने भन्ने नैतिक प्रश्न उब्जिएको छ ।

अमेरिकी संसदको गत वर्ष सन् २०१८ मा भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको दल रिपब्लीकन पार्टी पराजित भएको थियो । अहिले अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट पार्टीको बहुमत छ, तर माथिल्लो सदन सिनेटमा भने रिपब्लीकनको झिनो बहुमत छ ।

यहीबीच मेक्सिको सीमामा सङ्कटकाल घोषणा गर्ने राष्ट्रपतिको विपक्षमा डेमोक्र्याटका साथै केही रिपब्लीकन सिनेटरले पनि समर्थन जनाएपछि राष्ट्रपति ट्रम्प विलखबन्दमा परेको थियो ।

“कङ्ग्रेसले यो प्रस्तावको विपक्षमा मतदान गर्न सक्लान्,” ट्रम्पले ह्वाइट हाउसमा भने, “तर भिटो प्रयोग गर्न पाउने मेरो पनि अधिकार छ ।”
भिटो प्रयोगका सन्दर्भमा राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण नभए पनि आफूले अन्तिमसम्म प्रयास गरेको दाबी गर्न सक्ने छ । भिटोमा हस्ताक्षर गर्ने समारोहमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उहाँका समर्थकहरु, कानुन कार्यान्वयन अधिकारीहरु र सीमाबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुबाट मारिएका व्यक्तिका छोराछोरी पनि सहभागी थिए ।
राष्ट्रपति ट्रम्पले आपतकालीन आदेश जारी गरी प्रतिरक्षा खर्चका लागि विनियोजित अर्बौं डलर संघीय बजेटलाई सीमामा पर्खाल निर्माणमा खर्च गर्न चाहेको छ । तथापी यो भिटो विरुद्ध पनि विपक्षी डेमोक्र्याटबाट कानुनी चुनौती खडा हुनेछ । विपक्षीहरुले राष्ट्रपतिले प्रयोग गरेको भिटो असंवैधानिक रहेको दाबी गरिरहेका छन् ।
अमेरिकी अदालतमा उजूरी परेको खण्डमा त्यसलाई अन्तिम किनारा लगाउन महिनौं वा त्योभन्दा बढी समय लाग्नेछ । अदालतमा उजूरी गर्ने अमेरिकी नागरिक स्वतन्त्रता युनियन ९एसीएलयू० ले राष्ट्रपतिले जारी गरेको भिटो अर्थहीन रहेको बताएको छ ।
“कङ्ग्रेसले राष्ट्रपतिको घोषणा अस्वीकृत गरिसकेको छ, र अब अदालतले यसको कानुनी बैधताका बारेमा फैसला दिनुपर्ने भएको छ । हामी उहाँलाई अदालतमै भेट्न चाहन्छौं,” कार्यकारी निर्देशक एन्थोनी रोमेरोले बताए ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पले जारी गर्नुभएको भिटोलाई “कानुनी अधिकार बेगर नै शक्ति हत्याउने” प्रयासको संज्ञा दिँदै भने, “हामीले उहाँलाई रोक्न दुबै सदन र दुबै पार्टीले प्रयास गरेका थियौं । तर राष्ट्रपति ट्रम्पले संविधान, कङ्ग्रेस र अमेरिकी जनताको चाहना विपरीत भिटो प्रयोग गरे ।”
तर राष्ट्रपति ट्रम्पले दक्षिण सीमाको अवस्था साँच्चिकै राष्ट्रिय आपतकाल लगाउनुपर्ने किसिमको रहेको दाबी गरेको छ । उहाँले भने, “हाम्रो आप्रवासन प्रणाली छिन्नभिन्न अवस्थामा पुग्न लागेको छ ।”
धेरै सांसदहरुले बिहीबार संसदमा भएको मतदान राष्ट्रपति वा पर्खालको विपक्षमा नरहेको बताएका छन् । उनीहरुले यो अस्वीकृति भावी राष्ट्रपतिहरुका विरुद्ध सुरक्षाकवच रहेको बताए । कुनै डेमाक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपतिले भविष्यमा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण वा अरु कुनै विषयमा आपतकाल लगाउने प्रयास पनि गर्न सक्लान् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण सुरु गर्न तत्काल ५ अर्ब ७० करोड डलर बजेट माग गरेको छ । तर यसमा सहमति नहुँदा करिब ३५ दिन अमेरिकी संघीय कार्यालयहरु आंशिक बन्द भएका थिए भने आठ लाखभन्दा बढी कर्मचारीले तलब पाएका थिएनन् ।
संघीय सरकारी कार्यालयहरु बन्द गराउन राष्ट्रपति ट्रम्प नै जिम्मेवार रहेको विपक्षीहरुको भनाई छ । तर राष्ट्रपतिले अन्ततः कङ्ग्रेसले पर्खाल निर्माणका लागि पुनः बजेट दिनुपर्ने शर्त राख्दै बन्द खुलाएको थियो । तैपनि पर्खाल निर्माणको बजेटमा अझै सहमति हुन सकेको छैन ।
अमेरिकी रिपब्लीकन पार्टीका नेताहरुले पनि गत महिना राष्ट्रपति ट्रम्पलाई सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा नगर्न सुझाव दिएका थिए । उनीहरुले सैनिक परियोजनामा खर्च नभएको करिब ३ अर्ब ६० करोड डलर पर्खाल निर्माणमा खर्च गर्न आग्रह गरेका थिए ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००