११ जेष्ठ २०७९, बुधबार । May 25, 2022

समाचार

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार



काठमाडौँ । नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ ।

प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् ।

यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्यका एक हुनुहुन्छ चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिनुभएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक हुन् । “नेपाली कला र संस्कृति साह्रै राम्रो, ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गर्नु भएका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।

उहाँलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्नुहुन्छ । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्नुहुन्छ । एक हप्ता अघिदेखिको उहाँको दिनचर्या यसैगरी बितिरहेको छ । उहाँलाई सहयोग गरिरहेको छ, नेपाली चित्रकार एनवी गुरुङले ।

“मलाई गुरुङले जल रङबाट बनाएको चित्र औधी मन पर्छ, उहाँ एक अन्तर्राष्ट्रिय आर्ट मास्टर नै हो, म आर्ट टिचर भए पनि उहाँको त्यो कला सिक्न चाहन्छु”, उहाँले चिनियाँ भाषामा पठाएको मोबाइल सन्देश भन्नुभयो । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उहाँले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिए।

चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए । विगत पाँच महीनादेखि नेपाली चित्रकार गुरुङसँग वि च्याटमा सम्पर्क भएको थियो । “त्यसपछि उहाँ नियमित मलाई फलो गर्नु थाले, खै कसरी हो मेरो चित्रकलाले उहाँको ध्यान तान्यो, अनि सिक्नका लागि आउनुभयो”, चित्रकार गुरुङले भने । उहाँले आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहेको छ ।

नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहनुभएको छ । सोही सिलसिलामा उहाँ आज पोखरा पुग्नुभएको छ । चीनमा उहाँ बढी तेल रङमा काम गर्नुहुन्छ तर जल रङमा समेत उहाँले चित्र बनाउँदै आएको छ । अहिले उहाँले जल रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहेएको छ ।

अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ भन्नुहुन्छ, “प्रस्तुतीकरण महत्वपूर्ण कुरा हुन्छ, के मा केन्द्रित गर्ने त्यसमा भर पर्छ, टाढा हुँदा आकाश रङसँग मिलाउँदै पातलो पारेर जानुपर्छ, नजिक हुँदा ठूलो र गाढा बनाउँदै ल्याउनुपर्छ, लाइनको दुरान्तरका आधारमा सिद्धान्तमा रहेर चित्र कोर्नुपर्छ ।”

सअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरुलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय जल रङ महोत्सवमा आएका सात देशका चित्रकारहरुले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विस्वास कलाकारहरुको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरु नेपाल आउने गरेका कलाकारहरु बताउँछन् ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००