६ बैशाख २०८१, बिहिबार । April 18, 2024

समाचार

निकुञ्ज आश्रितको नगरपालिकाले बीमा गर्ने



चितवन । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो ।

नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिए । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले नै क्षतिपूर्ति दिने भए पनि निकुञ्जभित्र हुने घटनामा क्षतिपूर्ति दिने व्यवस्था छैन ।

गरीबीका कारण स्थानीयवासी निकुञ्जमा आश्रित हुनुपरेको भन्दै उहाँले बाध्यतावश निकुञ्ज छिर्दा दुर्घटना भइरहेको बताए । निगुरो टिप्न, घाँस काट्न, सामान्य दाउरा टिप्न स्थानीयवासी निकुञ्ज जाने गर्दछन् । त्यतिबेला वन्यजन्तुको आक्रमणले मृत्यु वा घाइते भएमा निकुञ्जले क्षतिपूर्ति दिँदैन ।

बाहिर आएर वन्यजन्तुले आक्रमण गरेमा भने मृत्यु हुनेको परिवारलाई रु १० लाख दिने, उपचार गरिदिने र खेतीको समेत क्षतिपूर्ति दिने व्यवस्था छ । निकुञ्जले क्षतिपूर्ति नदिने घटनामा नगरपालिकाले रु तीनदेखि पाँच लाखसम्म बीमा पाउने व्यवस्था गर्न लागिएको प्रमुख वनले बताए । सो सम्बन्धमा बीमा कम्पनीसँग छलफल भइरहेको उहाँले बताए ।

नगरपालिकाको वडा नं ५, ६ र ७ निकुञ्जसँग जोडिएका छन् । ती वडाका बासिन्दालाई पहिलो चरणमा बीमा गराउने उहाँले बताए । दोस्रो चरणमा मध्यवर्तीसँग जोडिएका वडा नं ८ र ९ का बासिन्दाको बीमा गरिने नगरप्रमुख वनको भनाइ छ । निकुञ्जसँग जोडिएका वडाका बासिन्दाको लगत लिने काम भइरहेको छ ।

 

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलबार ००:००