६ बैशाख २०८१, बिहिबार । April 18, 2024

छापा खबर

तीन करोड जनता : १४ सय डाक्टर



काठमाण्डौ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक उत्पादन भएका छन् । तर तीमध्ये थुप्रैको मृत्यु भइसकेको छ भने धेरैजसो रोजगारीका लागि विदेशमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको संख्या करिब ३ हजार छ । सरकारी र निजी तवरमा कार्यरत चिकित्सकको संख्या जम्मा ४ हजार ४ सय छ । श्रेष्ठले दुवै क्षेत्रमा ठूलो संख्यामा चिकित्सक अभाव रहेको बताए । उत्पादनको अनुपातलाई आधार मान्दा चिकित्सक अभाव छैन । उनले भने तर धेरैजसो विदेसिएका कारण सानो संख्यामा मात्रै सेवामा छन् । यसले गर्दा चिकित्सक र जनसंख्याको ग्याप फराकिलो हुन पुगेको छ ।
खोप तथा गाउँघर क्लिनिक समेत गरि नेपालमा ३२ हजार ९ सय १४ स्वास्थ्य संस्था छन् । स्वास्थ्यसम्बन्धी जनशक्ति ३५ हजार ५ सय ४४ छ भने ५२ हजार स्वयंसेविका छन् । हाल सम्म ५३ हजार २ सय ७८ नर्स उत्पादन भएका छन् ।

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलबार ००:००