१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

समाचार

मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड



गोरखा । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए । “मन्दिर निर्माणका लागि कूल रु १४ करोड ६४ लाख खर्च भएको कोषाध्यष बताए ।, सो खर्चमा “सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग सङ्कलन भएको हो । मन्दिर पुन–निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ ।

सो मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल रु ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ रु ६२ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी रु १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो ।

अभियानबाट नगद तथा जिन्सी गरी रु १५ करोड २७ लाख २१ हजार ९२८ सङ्कलन भएको र बाँकी रकम रु एक करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल रु पाँच करोड ८६ लाख मौज्जाद रहेको बताइएको छ । करीब ३०० वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ छ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो ।

विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पु¥याएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७२ जेठ २५ गते शुभसाईत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनःनिर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि रु आठ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो ।

समितिले राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिर निर्माण गरेको संयोजक श्रेष्ठले जानकारी दिए । “यसअघि मन्दिरको छानामा तामाको जलप लगाइएको थियो, अहिले मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर झकिझकाउ परिएको छ,” उहाँले भने । मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटो प्रयोग गरेर लगाइएको उहाँले जानकारी दिए ।

विसं २०७४ चैत महीनाभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण करीब आठ महीनापछि निर्माण सम्पन्न भएको हो । मनकामना मन्दिरमा नेपालसहित भारत लगायतका देशबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर दर्शन र पूजाआजाका लागि वार्षिक १२ लाखसम्म भक्तजन आउने गरेका छन् ।

प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार ००:००