११ चैत्र २०८०, आइतबार । March 24, 2024

समाचार

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो



भादगाउँ . महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ ।

त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि डोलेश्वर मन्दिरलगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

प्रकाशित : २० फाल्गुन २०७५, सोमबार ००:००