२ बैशाख २०८१, आइतबार । April 14, 2024

समाचार

‘लोभलाग्दो नेपाली कला र संस्कृति’



काठमाडौँ, १८ फागुन(रासस) : “साँच्चै नेपाल आउँदा अलग दुनियामा आएको झैँ लाग्यो”, भारतको महाराष्ट्रका अब्बल चित्रकार कुडलया हिरेमठले ललितपुरको दरबार स्क्वायरका कलाकौशल नियाल्दै अनुभूति बाँड्नुभयो ।

शुक्रबार पशुपतिनाथ र स्वयम्भू घुमेर दृष्य क्यान्भासमा उतार्नुभएका उहाँका लागि नेपालको यात्राऔधी रमाइलो र चित्रात्मक छ । प्यागोडा र शिखरशैलीका नेपालका पुरातात्विक संरचनाले उहाँलाई सात दिन होइन एक महीनानै यही बसेर काम गरौंगरौँ बनाएको छ ।

“नेपालमा राम्रा संरचना छन्, भारतमा यति अग्ला पनि हुन्न, त्रिभुजाकार पनि हुन्न, नेपालको आफ्नै पहिचान हो, मनै लोभ्यायो”, हिरेमठले थप्नुभयो । उहाँ भारतका चित्रकारको नेतृत्व गरेर नेपालमा आउनुभएको हो ।

आज दिउँसो भारतका अन्य १२ चित्रकार पनि क्यान्भासमा पाटनदरबार स्क्वायरका दृष्य उन्दै थिए । अर्का भारतीय चित्रकार विक्रान्त सिटोलेले पनि नेपालको दृष्य अलग खालको आफ्नै मौलिकतामा आधारित रहेको बताउनुभयो । सिटोलेले नेपालको वर्णन गर्दै भन्नुभयो, “कता कता भारत र चीनको मिश्रित भएजस्तो पनि, अनि आफ्नै खालको लाग्ने, बहुत सुन्दर ।”

चित्रकारहरुको संस्था ‘भारत संस्कार’ बाट चित्रकला अध्ययनका लागि आएका उनीहरुको एउटा समूह केही दिनदेखि काठमाडौँका मौलिक तथा पुरातात्विक क्षेत्रको भ्रमणमा छ । उनीहरुले यहाँ बसेर जलरङमार्फत दृष्य क्यान्भासमा उतारिरहेका छन् । स्वयम्भू, पशुपतिनाथपछि नगरकोट, भक्तपुर, ललितपुरका विभिन्न क्षेत्रमा जाने योजना उनीहरुको छ ।

ललितकलाका माध्यमबाट भारतमा सो समूहले हरेक हप्ता चित्रकला कार्यशाला (कक्षा) चलाउँदै आएका छन् । भारतमा मात्रै अभियान चलाएका चित्रकार अन्तर्राष्ट्रिय जलरङ समाज नेपालसँगको समन्वयमा पहिलो पटक काठमाडौँ आएका हुन् ।

पाटन दरबार स्क्वायरको चित्र कोर्दै गरेका फारुख नगाफले भारतमा यहाँका जस्ता पूर्वाधार नभएको उल्लेख गर्दै यसरी चित्रकला कार्यशाला गर्दा दुई देशको संस्कृति आदानप्रदान हुने र सम्बन्ध प्रगाढ हुने बताउनुभयो । “भारत पाकिस्तानबीच टकराव आइरहेका बेला हाम्रो यो प्रयास सुमधुर सम्बन्धको सन्देश दिने खालको छ, यो नै खुशीको कुरा हो”, फारुखले भन्नुभयो ।

नेपाली चित्रकार राजेश मानन्धरका अनुसार नेपालका प्यागोडाशैली र शिखरशैलीका संरचना विश्वकै लागि आकर्षक हुन् । लिच्छवीकालदेखिकै यी संरचना यहाँबाट भारतमा गएका छन् । भारतबाट पनि मिथिलाञ्चल क्षेत्रमा संरचना भित्रिएका छन् । त्यसैले दुई देशबीच भौगोलिक र राजनीतिक मात्रै होइन कलाको पनि अन्योन्याश्रित सम्बन्ध रहेको मानन्धरले बताउनुभयो ।

बीस देश घुमेर चित्र बनाउँदै आएका भारतका प्रफुल्ल सावन्त नेपाली दृष्यले आकर्षित गराएको बताउँदै एकै ठाउँमा बसेर एक महीनासम्म चित्र कोर्नका लागि धेरै विषय पाएको उल्लेख गर्नुभयो । नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला यस्ताखाले कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताउनुभयो ।

प्रतिष्ठानको चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले विगतमा पर्यटन बोर्डसँग सहकार्य गरेर चित्रकला सम्बन्धी कार्यक्रम गरिएको अनुभव सुनाउँदै यसपटक विभिन्न स्थानीयतहसँग सहकार्य गरेर काम भइरहेको उल्लेख गर्नुभयो । पर्यटन विकासका लागि कलाको विकास गर्नुपर्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

अन्तर्राष्ट्रिय जलरङ समाज(आइडब्लुएस) नेपालका अध्यक्ष एनवी गुरुङले कला आदानप्रदान गर्ने लक्ष्यसहित भारतीय कलाकारसँग सहकार्य गरेर कार्यशाला आयोजना गरिएको बताउनुभयो । बनाइएका चित्रलाई नेपाल र भारतमा प्रदर्शन गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो । भारतका १३ कलाकारलाई नेपाली चित्रकार दिपेन्द्रमान बनेपाली, डिराम पाल्पाली, डिबी राई, सुरेश स्याङ्तान, राजेश मानन्धर लगायतले साथ दिनुभएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७५, शनिबार ००:००