१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

पेरुको सुनखानीमा पहिरो जाँदा धेरैको मृत्यु



लीमा, १० फागुन । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । 

पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ ।

ला रिपब्लीका अखबारले खानीमा कार्यरत सात जनालाई बगाएको जनाएको छ । अरु केही व्यक्ति हिलोमा पुरिएका र तिनीहरुको खोजी भइरहेको पनि अखबारले जनाएको छ । उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाई भइरहेको बताइएको छ ।

पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ । यहाँ मजदूरहरुको अवस्था समेत अत्यन्त नाजूक रहने गरेको छ ।

यसै महिनाको शुरुमा पनि अवैध खानीमा कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो । गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर दुई जना मजदूरको ज्यान गएको थियो ।

पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि ठोस कार्य हुन सकेको छैन ।

यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अबैध खानीलाई नियमन गर्ने अभियान शुरु गर्नुभएको छ ।

पेरु विश्वकै छैटौं ठूलो सुन उत्पादक राष्ट्र हो ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ००:००