१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

मुख्य खबर

२४ गोही नदीमा छाडियो



चितवन, ३ फागुन (रासस): घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई आज राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै गोहीलाई नदीमा छाडिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहितका जनप्रतिनिधिको उपस्थितिमा गोही छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यस वर्ष एक सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम छ । कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ४०४ गोही छाडिएको उहाँले बताउनुभयो । पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा हाल पाँच सयभन्दा बढी गोही छन् ।

प्रजनन् केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार आज छोडिएका गोहीमध्ये दुई भाले र २२ पोथी हुन् । एउटा गोही हुर्काउनका लागि रु १० लाख हाराहारी खर्च हुन्छ । नदीबाट अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर बच्चा हुर्काइन्छ । पछिल्लो गणनाअनुसार राप्ती र नारायणीमा करीब २०० गोही छन् । खड्काका अनुसार सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ देखि नदीमा छोड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्तीमा हालसम्ममा ७२४ गोही छाडिसकिएको छ भने नारायणीमा ३९९ गोही छाडिएको छ । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएको छ ।

नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । नेपालमा हुर्काएर नदीमा छोडेका गोही भारत पुग्ने गरेका हुन् । राप्तीमा गोही छोड्दै महानगरप्रमुख दाहालले संरक्षणमा स्थानीय निकायले सहयोग पु¥याउने बताउनुभयो । “नदीमा बढ्दै गएको प्रदूषण रोक्न महानगर प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल, सहायक संरक्षण अधिकृत खड्का, भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेल, पटिहानी उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोलगायतले सबै एकजुट भएर संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

घडियाल गोही हराउँदै 

अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही नदीमा छाडिँदै आएको भए पनि नदीमै हराउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिँदै आएको भए पनि गोहीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ देखि देशका विभिन्न नदीमा छोड्न शुरु गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत खड्काका अनुसार प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएभन्दा पनि हाल नदीमा रहेका गोहीको सङ्ख्या कम छ । नदीमा छाडिएका गोहीको संरक्षण हुन सकेको छैन । प्रजनन केन्द्रमा हाल पाँच सयभन्दा बढी गोही छन् । नदी किनारमा जोखिम अवस्थामा रहेका अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ८२, नारायणीमा ८४, बबईमा ३१ र कर्णालीमा एउटा गोही छ । कालीगण्डकी, सप्तकोशीलगायत नदीमा भने पछिल्लो समय गोही छोड्न छाडिएको छ । ती नदीमा गोही देखिन छाडेपछि छोड्न पनि छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार नदी प्रदूषित हुनु, नदीजन्य पदार्थको दोहन हुनु, मानव अतिक्रमणले आहारा प्रजाति नष्ट हुँदै जानु लगायतका कारण पछिल्लो समय घडियाल गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्छन् ।

राप्ती र नारायणी नदीबाट भारत पुगेका गोही गण्डक ब्यारेजका कारण नेपाल फर्किन सक्दैनन् । नदीमा बर्षेनी ठूलो सङ्ख्यामा गोही छाडिँदै आए पनि नदीमा हाल सङ्ख्या न्यून देखिएको छ । छोडेका गोही के कति भारत जान्छन् भनेर अध्ययन भइरहेको ढकाल बताउनुहुन्छ । दुई महीनाअघि पाँच गोहीमा भिएचएफ र सेटलाइट जडान गरी नदीमा छाडिएको छ । थप गोहीलाई समेत जडान गरी छोड्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “ती गोही कहाँ जान्छन् अनुगमन भइरहेको छ”, ढकालले भन्नुभयो । प्रमुख संरक्षण अधिकृत ढकाल प्रजनन केन्द्रमा हुर्काएर नदीमा नछाडिएको भए हालसम्म नेपालका नदीहरुमा घडियाल गोही समाप्त भइसक्ने बताउनुहुन्छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार ००:००