१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

मौसम बदली : वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, ३ फागुन  । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुदै जाने बताइएको छ ।
राति देशभर मौसम बदली हुनाका साथै पश्चिमी भू भागका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यस्तै शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै धनकुटाको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार ००:००