११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

चोरीे निकासी रोकिएन सेतोचिनी



जाजरकोट, २६ माघ ।  वातावरणीय मूल्याङ्कन नगरी सङ्कलन गरिएको सेतोचिनी निकासीसमेत अवैद्य तरिकाले भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सङ्कलित सेतोचिनी (खिरौलो) अवैध तरिकाले निकासी हुने क्रम नरोकएकाले वन उपभोक्ता समितिले ठेकेदारको नाममा उजुरी दिएपछि डिभिजन वन कार्यालयबाट सिफारिश दिने काम रोकेको छ ।
आवश्यक छानबिनपछि मात्र कारवाही अगाडि उक्त कार्यालयले जनाएपछि कतिपयले छिमेकी जिल्लाबाट पुर्जी लिएर पनि सेतोचिनी निकासी गरेको एक व्यापारीले बताए । कार्यालयको लापरवाही र ढिलासुस्तीले समयमै वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बारेकोट गाउँपालिकाको मिलेमतोमा सेतोचिनी सङ्कलन गर्न दिएपछि यस्तो समस्या आएको हो ।

केही समयअघि उक्त कार्यालयले सम्बन्धित वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण गरेका कारण पाँच सय क्विन्टलसम्मका लागि मात्र छुट पुर्जी दिने अनुमति दिएपछि करीब दुई सय ठेकेदारले छ लाख किलो छुटपुर्जीको माग गर्दै निवेदन दिएकाले चलानी पुर्जी रोकिएको हो । अहिले कार्यालयले प्रतिठेकेदार ३०० किलोसम्म मात्र छुट पुर्जी दिएको छ । मागको तुलनामा निकै कम परिमाणको पुर्जी पाएपछि व्यवसायीले चोर बाटो प्रयोग गरी सेतोचिनी निकासी गरेका हुन् ।

केही व्यावसायीले अहिलेसम्म बारेकोटको पाटनमै सेतोनिची राखेर जुम्लाको सिमाना हुँदै अवैद्यरूपमा निकासी गरिरहेको स्थानीयवासी तीर्थराज बोहोराले बताउनुभयो । असोजदेखि मङ्सिर पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा बहुमूल्य सेतोचिनी सङ्कलन गरिएको थियो । जमीनमुनी सखरखण्डजस्तो गरी फलेका फल खनी निकालेर तयार पारिएको सयौँ क्विन्टल सेतोचिनी बारेकोट, थलहबजार, कालीमाटी, रिम्ना, पाँचकाटिया, तल्लुबगरलगायत स्थानबाट अवैध रुपमा निकासी गर्नका लागि राखिएका छन् ।

स्वीकृति नभएका कारण सेतोचिनीलगायत जडीबुटीको निकासी पुर्जी दिन नसकिएको उक्त कार्यालयका प्रमुख मन्जुर अहमदले बताउनुभयो । एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटमा वनको वातावरणीय प्रभाव मूल्याङ्कनको जिम्मा लिएकोे थियो तर समयमा काम नगर्दा समस्या देखिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो ।

प्रकाशित : २६ माघ २०७५, शनिबार ००:००