१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु



धरान, २५ माघ ।  मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।

रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट रु पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो ।

माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का मानार्थ उपाध्यक्षसमेत रहनुभएका राईले विदेशी टिम ल्याउन एन्फाले पहल नगरेकामा भने गुनासो गर्नुभएको छ । “विदेशी उत्कृष्ट टिम ल्याउन एन्फालाई अनुनय विनय गरँे तर सफल भइएन, एन्फाले बेवास्ता ग¥यो”, उहाँले भन्नुभन्यो, “२२औँ संस्करण रात्रि समयमा अन्तर्राष्ट्रिय ‘ए’ ‘लेभल’का टिम ल्याएर प्रतियोगिता गराउँछौँ ।”

क्लबका महासचिव प्रताप तामाङका अनुसार उत्तर र पूर्वतर्फ पक्की प्यारापिट बनिसकेको छ । ती प्यारापिटमा करीब पाँच हजार दर्शक अटाउँछन् । पश्चिमतर्फ भने दुई सय र एक सय फिटको प्यारापिट बनेको छ, जसमा दुई हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्पm नै पाँच सय क्षमताको ‘भिआइपी’ प्यारापिट तयार भइसकेको छ ।

यो वर्षको प्रतियोगितामा लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब, पुलिस क्लब, सङ्कटा, सहार क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, डाल्पीनास क्यामारुप, भूटान, डालहाउस, एथेलेटिक कोलकता मैदानमा आउने आयोजकले जनाएको छ । थ्रीस्टार क्लब र आर्मी क्लब भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको आयोजक क्लबका अध्यक्ष राईले बताउनुभयो । करीब रु ७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख पाउनेछन् ।

गत वर्ष थ्रीस्टार क्लब विजेता बनेको थियो । उपविजेता प्रहरी टिम बनेको थियो ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ००:००