७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

प्रदेशसभा बैठकमा छलफल



विराटनगर, २४ माघ । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’बारे प्रदेशसभा बैठकमा छलफल भएको छ ।

प्रदेश नं १ को आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रस्तुत विधेयकमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्य नवोदिता चौधरी, प्रकाशप्रताप हाङ्गाम, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का र विमल कार्कीले सो विधेयकले प्रदेशमा विद्युत् उत्पादन र वितरणमा अग्रणी भूमिका खेल्ने बताउनुभयो । उहाँहरुले विद्युत् उत्पादन र वितरणसम्बन्धी उक्त विधेयकमाथि गहन छलफल र बहस हुनुपर्ने भन्दै यसमा देखिएका समस्या र जटिलतालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । विद्युत् उत्पादन र वितरण गर्न प्रदेश सरकारले आफ्नै संरचना बनाउनुपर्ने तथा विद्युत्मा नेपाली नागरिकले अंशियार खरीद गर्ने कुरा स्पष्टरुपमा आउनुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिनुभएको थियो ।

शून्य समय

प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य अम्बिका थापाले उदयपुरमा कतिपय सरकारी संरचना जीर्ण भएकाले त्यसलाई सुधार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नागरिकको जीवनसँग जोडिएको अस्पताल र जनस्वास्थ्य कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नभएकाले स्वास्थ्यको क्षेत्रमा नकारात्मक असर परेको गुनासो गर्नुभयो ।

प्रदेशसभा सदस्य कल्पना सरदारले मोरङका विभिन्न नदीमा मापदण्डविपरीत उत्खनन् भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने माग गर्नुभयो । प्रदेशसभा सदस्य कुलप्रसाद साम्वाले मोरङको झुर्किया र गोविन्दको बाटो अविलम्ब बन्नुपर्ने बताउनुभयो । उहाँले सरकारले महानगरपालिकाका लागि कायम गरेको मर्यादाक्रम पनि नमिलेकाले सच्याउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य चुमनारायण तवदारले नागरिकलाई बाढीबाट जोगाउन प्रदेश सरकारले पूर्वतयारी गर्नुपर्ने अन्यथा विराटनगर वर्षात्का समयमा डुब्ने चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य लीला सुब्बाले सिमान्तकृत, अल्पसङ्ख्यक र दलितको अधिकारलाई सरकारले सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । प्रदेशसभा सदस्य विद्यानन्द चौधरीले मोरङको विभिन्न नदीमा जथाभावी उत्खनन् हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फेले प्रदेशसभा सदस्यका लागि प्रदेश कोष स्थापना भएमा नागरिकका विभिन्न समस्या समाधान हुने भएकाले प्रदेश सरकारको ध्यान जाओस् भन्नुभयो । प्रदेशसभाको अर्को बैठक माघ २८ गते दिउँसो २ बजे बस्नेछ ।

प्रकाशित : २४ माघ २०७५, बिहिबार ००:००