७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

डा केसीको अनशन अन्त्य



काठमाडौँ, १८ माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ ।

अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो ।

“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो ।

डा केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।

डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्वविशिष्ट व्यक्तिले डा केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००