१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

ताइवान विमानस्थलमा १२५ दिनसम्म अलपत्र परेका चिनीयालाई अस्थायी भिसा



ताइपेइ, १७ माघ । ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ ।

ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन् । उनीरु दुबै चीनका मानव अधिकार अभियन्ता रहेको बताइएको छ ।

उनीहरु गत वर्ष सेप्टेम्बरमा थाइल्यान्डको बैंककबाट ताइवान आइपुगेका थिए ।

राजनीतिक कारणबाट उनीहरु चीनबाट भागेको बताइएको छ । थाइल्यान्डमा रहँदा उनीहरुले राष्ट्रसङ्घ मार्फत शरणार्थीको मान्यता पाएका थिए ।

तर थाइल्यान्डमा प्रहरीले पटकपटक उनीहरुसँग सोधपुछ गर्ने गरेको तथा कतिपय अवस्थामा त्यस्ता व्यक्तिलाई चीन फर्काइदिने गरेका कारण आफूहरु थाइल्यान्ड छाडेर ताइवान आइपुगेको उनीहरुले बताएका छन् ।

ताइवानका अध्यागमन अधिकारीहरुले दुबैलाई ताइवान प्रवेश गर्न अनुमति दिएको थिएन । ताइवानको लोकतान्त्रिक सरकारले उनीहरुलाई चीन नै फर्काउन आनकानी गरिरहेको अवस्थामा अन्ततः मानवीय दृष्टिबाट अस्थायी अनुमती दिएको छ ।

उनीहरु दुबैले क्यानाडामा शरणार्थी हुन पनि आवेदन दिएका छन् ।

लिउ र यानले आफूहरुलाई शरण दिएकामा ताइवान सरकारप्रति आभार व्यक्त गरेका छन् । तर उनीहरुले चीनका कारण ताइवानमाथि कुनै किसिमको समस्या निम्त्याउन नचाहेको पनि बताएका छन् ।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००